बुधवार, 11 मई 2011

रामबहादुरको मिहिनेत


कुनै एउटा गाउँमा हर्कबहादुर नाम गरेको मानिस बस्थ्यो । सम्पत्तिको नाममा उसको आफ्नो केही थिएन । जीवन निर्वाहका लागि ऊ अर्काको घरमा हली बसेको थियो । हलीको काम गर्नु नै उसको दैनिकी थियो । उसको परिवारमा ऊ अनि छोरो रामबहादुर मात्र थिए । रामबहादुर वर्षको छँदा उसकी आमा रामप्यारीको क्षयरोगबाट मृत्यु भएको थियो ।
समयको क्रमसँगै रामबहादुर हुर्कदै गयो । हुने बिरुवाको चिल्लो पात भनेझैं सानै उमेरदेखि रामबहादुरमा विलक्षण प्रतिभाहरू देखा पर्न थाले । गरिबीको कारणले घरमा पढने अवस्था नहुँदा पनि रामबहादुर आफ्ना मालिकको छोराले च्यातेर फ्याँकेका पुराना किताब भेला पारेर पढ्थ्यो । मिहिनेतको फल मिठो हुन्छ भनेझैं रामबहादुरले बाह्राखरी मात्रै होइन ए बी सी डि पनि जान्दै गयो । छोरालाई पढाइ गुनाइ गरेर ठूलो मान्छे बनाउने चाहना हर्कबहादुरको भए पनि ऊसँग पैसा नहुँदा रामबहादुरले स्कुल जान पाएको थिएन ।
उता मालिकको छोरो नरेश रामबहादुरको साथी थियो । ऊ गाउँकै सम्पन्न स्तरीय बोर्डिङ स्कुलको कक्षा ६ मा पढ्थ्यो । नरेशले सधै नयाँ ब्यागमा कापी किताब बोकेर टाई लगाएर स्कुलको ड्रेसमा स्कुल गएको देख्दा रामबहादुरलाई ज्यादै नियास्रो लाग्थ्यो । म पनि सम्पन्न परिवारमा जन्मिएको भए यसरी नै स्कुल जान पाउने थिएँ होला ।' रामबहादुर सधैँ गम्भीर भएर यस्तै कुरा मनमा खेलाइरहन्थ्यो ।
एक दिनको कुरा हो । गाउँमा कसले अङ्ग्रेजी भाषाको हिज्जे ठीकसँग भन्ने विषयमा १० वर्ष मुनिका बालबालिकाहरूबीच प्रतियोगिता हुने भयो । यसमा अन्य बाल बालिकाका अतिरिक्त नरेश र रामबहादुरले पनि भाग लिए । सबैको ध्यान नरेशतर्फ खिचिएको थियो । नरेशका बाबु धनी सम्पन्न साहु थिए । गाउँमा उनको ठूलै रवाफ चल्थ्यो । त्यसैले उनीहरूको ध्यान नरेशतर्फ खिचिनु स्वाभाविकै थियो । सबै भनिरहेका थिए - नरेश प्रथम हुन्छ । निर्णायक मण्डलले सबैको ध्यान भङ्ग गर्दै परिणाम घोषणा गरिदिए - रामबहादुर प्रथम भए । सबै तिन छक्क परे । रामबहादुरले फूलमाला र तालिको गडगडाहटबीच पुरस्कार थाप्यो र मञ्चमा दुई शब्द बोल्ने अवसर पनि पायो ।
यसै क्रममा रामबहादुरले भन्यो-साथी हो निराश हुनुपर्दैन, मिहिनेतको फल मिठो हुन्छ । आज म यही मिहिनेतको कारणले प्रथम हुन सकें । सबैले ताली बजाएर होस्टेमा हैंसे थपिदिए ।
चन्द्रमा दाहिना भएपछि कसैको केही लाग्दो रहेनछ । पुरस्कार वितरणको कार्यक्रम सकिएको केही समयपछि नै रामबहादुरको मिहिनेत र लगनसिलताको प्रसंशा गाउँभरी फैलियो । एउटा गैह्र सरकारी संस्था बाल कल्याण समितिले छात्रवृद्धि दियो रामबहादुरलाई नरेश पढने स्कुलमै कक्षा ६ मा भर्ना गरिदियो ।
रामबहादुर पढाइमा सधैं अब्बल हुँदै गयो । नरेश भने सधैको फेलका फेल । रामबहादुर सबैको प्यारो साथी भयो, नरेश मारपिटको नाइके भयो ।
समय बितेको पत्तै भएन । एस.एल.सी.मा राम्रो अङ्क ल्याएर डाक्टर पढन थालेको केही वर्षमै रामबहादुर डाक्टर बन्यो ।
एक दिन रामबहादुर आँखा अस्पतालको अत्याधुनिक मेसिनले जडित ल्याबमा रोगीको आँखा जाँच गर्दै थियो । बाहिरबाट ढोका ढक्ढकाएको आवाज आयो । ढोका खोलेर हेर्छ-एक जना जवान ठिटो अर्ध मूर्छित अवस्थामा छटपटाई रहेको थियो । सोधखोज गर्दा पत्ता लाग्यो - ऊ त नरेश पो रहेछ । साथी साथीबीचको झगडामा तीखो चुच्चो जस्तो औंठीले हानेको घुस्सा नरेशको आँखैमा लागेको रहेछ । डाक्टर रामबहादुरले बढो धैर्य र मिहिनेतका साथ आँखाको उपचार गरे । उपचार सफल भयो । आजकल भेटघाट हुंदा सबैसँग नरेश भन्ने गर्छ
मिहिनेत गर मिहिनेत गर मिहिनेतको फल मिठो हुन्छ मिहिनेत गरे के हुँदैन र डाक्टर रामबहादुरलाई हेर ।

शंका


चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । झट्ट हेर्दा रमेश र निशाको जोडी कता कता अमिल्दो देखिन्थ्यो । पातलो, अग्लो कदको रमेश युवा अवस्थामै अलिक कुप्रो देखिन्थ्यो भने नाक लामो भएकोले होला आँखाहरू खोपिल्टाभित्र पसेको भान हुन्थ्यो । उनीहरूको विवाह परिवारकै सहमतिमा मागेर भएको थियो ।
विवाहको प्रारम्भिक दिनहरूमा निशा रमेशसँग बोल्न लजाउँथिन् । तर पछिल्ला दिनहरूमा रमेशको सामीप्यमा रहँदा बस्दा निकै खुलेर हाँस्ने बोल्ने गरेकी थिइन् ।
विवाह भएका दिनहरूमा रमेशलाई सबै जनाले जिस्काउँने गर्दथे । हुँदा-हुँदा अफिसमा पनि "रमेश सर भाउजू त साह्रै राम्री पो पाउनु भएछ । क्या लक्की हुनुहुदोँ रहेछ । " भन्नेहरूको लाम हुन्थ्यो । रमेश केही नबोली मुस्कुराएर स्वीकारोक्ति जनाउँदथ्यो भने मनमनै डाहा भएको महसुस गर्दथ्यो । यसरी जो कोहीले निशाको रुपको प्रशंसा गरिरहँदा कसैले निशामाथि आँखा लगाईहाल्ने पो हो कि भन्ने डरले खाइरहेको हुन्थ्यो ।
खुल्ला हृदयकी निशा फरासिली स्वाभावकी भएकीले जोसँग पनि हाँसेर बोल्ने गर्दथिन् । मिलनसार र अर्काको दु:ख पीडामा सदैवसहयोगगर्न तत्पर निशाको हरेक व्यवहार मन पराउने भए पनि रमेशलाई निशा अरुसँग चाडै नजिकिएको र हाँसेर बोल्ने बानी मन पर्दैनथ्यो । तर पनि खुलेर बिरोध भने गर्न सकेको थिएन । निशाले स्नोकोत्तर सकाएकीले रमेशकै सहमतिमा एउटा निजि कलेजमा अध्यापन गर्न थालेकी थिइन् ।
दिनहरू बित्दै गए । रमेश र निशा आ-आफ्ना काममा व्यस्त रहन्थे । गाउँघरमा शिक्षित महिलाको अभाव भएकोले कुनै पनि संघ-संस्थाले आफ्नो कार्यक्रममा सहभागी हुन निशालाई अनुरोध गर्दथे । निशा पनि अफ्नो व्यस्त समयको बाबजुद पनि सामाजिक कार्यमा आफूलाई सहभागी गराँउथिन् । उनी समाजमा रहेर केही परोपकारी काम, सेवा गर्न पाउँदा आनन्दको महशुस गर्थिन् । पछि गएर यो एउटा नशाको रुपमा विकसित हुनपुग्यो । रमेशले निशाको धेरै जसो समय बाहिर व्यतित हुन थालेको बोध गर्न थाल्यो । रमेशले निशाको सामाजिक कार्यप्रतिको लगावमा रोक लगाउन नचाहेको हैन तर बिद्रोह गर्न सकेको थिएन । उनलाई डर यो थियो कि निशाको यस्ता कार्यहरूले बाहिरी व्यक्तिहरूसँगको सम्पर्क बढ्दै जाने र आफूलाई बिर्सन सक्ने सम्भावना प्रवल रहला । शारीरिक रुपमा पनि निशा निकै सुन्दर थिइन् । यसले गर्दा रमेशमा शंकालु बानीको बिजारोपण भएको थियो भन्दा असान्दर्भिक थिएन ।
"रमेश दाइ भाउजू त आज सामुदायिक प्रहरी बिटम हुनुहुन्थ्यो नि! निकै हाँस्दै हुनुहुन्थ्यो । के हो ? होस गर्नुस है । आईमाई मान्छे यसरी खुलस्त भएको राम्रो संकेत हैन । " छिमेकमा बस्ने शिवको यस्तो चाप्लुसी एवं स्वार्थले भरिएको कुरा सुनेर रमेशमा आगोमा घिउ थपिने काम भएको थियो ।
"दाइ भाउजू आज पनि घरमा हुनुहुन्न ? "
"रमेशजी होस गर्नुस है, भाउजू राम्री हुनुहुन्छ । फेरि उडाउँला नि कसैले हा!हा!हा! "
केही महिना यता सुनिदैँ आएको यस्ता अभिव्यक्तिहरूलाई पचाउँदै आएको रमेशलाई अब साँच्चैनै असह्य हुन थालेको थियो । जागिर अनि त्यसमाथि सामाजिक कार्यमा व्यस्त निशाको व्यवहार अनि अरूले सुनाएका भाँडभैलो कुराहरूले रमेशलाई घोत्लिएर सोच्न बाध्य बनाउँदै लगेको थियो ।
"निशा आज सिनेमा हेर्न जाअौं है, हिजो अफिसमा साथीहरूले च्यारिटी-सोको टिकट ल्याएका रहेछन् । मैलेपनि दुईवटा ल्याएँ ।"
रमेशको यो प्रस्ताव शनिवार छुट्टीको दिन हुदाँहुदै पनि निशाले सहर्ष स्वीकार्न सकिन, "ओहो! हिजो अस्ति भन्नुभएन । आज त रोटरी क्लबको कार्यक्रममा प्रमुख अथिति भएर जानुपर्ने छ । के गर्ने ? अरु कुनै दिन जाउँला नि हुन्न ? "
निशाको कुरा सुनेर रमेशले चुपचाप हुन्छ भनेर टाउको मात्रै हल्लायो ।
निशा केही बेरपछि बाहिर निस्किन् । रमेश भने खाटमा पल्टियो । नानाभाँतीका तर्कनामा रमेश हराउन थालेको थियो । "निशा किन मलाई समय दिन्न ? मैले चाहेको समयमा म किन उसलाई पाउँदिन ? के साच्चै नै बाहिर चलेको हल्ला जस्तै निशा घर बाहिरकै दुनियाँमा हराउन थालेकी हुन् वा मसँग समय व्यतित गर्न चाहन्न । पक्कै पनि निशाको कुनै नाजायज सम्बन्ध स्थापित भएकै हुनुपर्छ । हैन भने मेरो हरेक प्रस्ताव किन सहर्ष स्वीकार्दिन ? " रमेश यस्तै बेतुकका तर्कनामा विलिन हुन थालेको थियो ।
मानसिक रुपमा विक्षिप्त हुन थालेको रमेशले अन्तर्मनमा चल्ने यस्ता द्वन्द्व शान्त पार्न चुरोटको सहायता लिन थालेको थियो । ऊ चुरोटको धुवाँसँगै आफूलाई पनि उडाउँदै वायुमण्डलमा पुर्‍याउँदै बडो विचारणीय हुने गर्दथ्यो ।
रमेशमा निशा प्रति शंका गर्ने प्रवित्ति ह्वातै बढेर गएको थियो । तैपनि बिरोध भने गरिहाल्न सकिरहेको थिएन । ऊ भित्र-भित्रै पाक्दै थियो । धमिराले गुँड लगाएको पर्वत झैं रमेश पनि भित्र-भित्रै खोक्रो हुदैं गएको थियो । "मेरो उपस्थिति कतै निशालाई बाधक त भएको छैन ? म निशाभन्दा शारीरिक सु-संगठनको रुपले अयोग्य भएकैले हो त निशाको तिरस्कारको पात्र भएको ? साँच्चै नै उनी मसँग खुसी छैनन् । "
बनको बाघले खाओस नखाओस मनको बाघले रमेशलाई बिस्तारै खादैँ थियो । झुस्स दाह्री पालेको हेर्दा बिमारी झैं देखिने रमेशलाई रिसाहपन, चिडचिडाहपनले बिस्तारै गाँज्दै लगेको थियो ।
निशा यी कुराहरू किन हुदैँछ भन्ने खबरबाट बेखबर थिइन् । सधैँ हाँसी खुसी बोल्ने रमेशमा देखिएको यस्तो परिवर्तन देखेर निशा अचम्भित हुन थालेकी थिइन् । कहिलेकाहीं किन यस्तो हुदैँछ भनेर जान्न नखोजेकी पनि हैन । तर रमेशको अन्तर्मुखी स्वभावको कारण जड पत्ता लगाउन निशालाई हम्मे हम्मे परेको थियो ।
चैतको महिना थियो । बाहिर हुरी बतास चलिरहेको थियो । तर त्योभन्दा बढी हुरी निशाको मनभित्र चलिरहेको थियो । त्यस दिन रमेश कतै बाहिर गएर हतार हतार घर प्रवेश गरेको थियो । सँगै खाना खाने प्रतिक्षामा बसेकी निशा आज घरमै थिइन् । कोठामा एक प्रकारको सन्नाटा छाएको थियो ।
"हजुर भर्खर आईपुग्नुभयो, जाउँ भान्छामा सँगै खाना खानलाई । "
रमेशले निशाको आग्रह सुने नसुने झैं गरी टेबलमा एउटा फाईल राख्दै "यसमा हस्ताक्षर गर" भन्यो । निशा कुनै रहस्यमय घटनाको पर्दाफास गर्ने व्यक्ति झैं शंकास्पद हेराईले त्यो फाईल चुपचाप पल्टाउँदै गइन् । एक्कासी उनी छाँगाबाट खसे झैं आभास गर्न पुगिन् ।
"किन यी कागजहरू ? "
रमेशसँग निशाको प्रश्नको रेडिमेट उत्तर थियो, "तिमी मसँग खुसी छैनौ, मलाई थाहा छ । त्यसैले म तिमीलाई स्वतन्त्रता दिन चाहन्छु । यो डिभोर्सको कागजातहरू हो । हस्ताक्षर गर ।"
यति भनेर रमेश बाहिर निस्कियो ।
निशाले पुरै ब्रम्हाण्ड नै आफूमाथि खनिएझैं महशुस गरिन् । रमेशसँग जीवनका हरेक खुड्किलाहरूसँगै उक्लने सपना बोकेकी निशा अब कसैले त्यो शिशा फुटाएझैं चक्नाचुर पार्न खोजे जस्तै आभास गर्न पुगिन् । निशा चिच्याउन चाहन्थिन् तर आवज भित्र-भित्रै दबिएको भान हुदैँ थियो । गला अबरुद्द भएको थियो । कोठामा मुर्दा शान्तिले साम्राज्य जमाएको थियो । निशा प्रश्न गर्न चाहन्थिन्, कहाँ नेर उनको गल्ती भयो जीवन जिउने क्रममा । उनी भित्रै-भित्रै गल्दै थिइन् । उनी "मेरो गल्तीहरू स्पष्ट पार" भन्न खोज्दै थिइन् तर उसको उत्तर दिने कोही थिएन । कसरी रमेशमा यस्ता गलत सोचाईहरू आयो ? किन शंकाको डोरीले कस्सिएर बाँधियो रमेश ? के साँच्चै नै मैले दिने मायामा कमी भएकै हो त ? म कहाँ चुकेछु ? सबैभन्दा भाग्यमानी अनुभव गरिरहेकी म भ्रममा पो रहेछु त ? कसरी रमेश मेरो लागि बाधक भयो ? म रमेशसँग खुसी छैन रे ? के मैले नै गल्तीहरू गरेको हुँ त ? अहो! मैले रमेशको ईच्छा, मनोकांक्षाहरू पुरा गर्न नसकेकै हुँ त ? म त आफूलाई सबैभन्दा परिपक्क र समझदार छु भन्ने सोच्थें तर हैन रहेछ कि क्या हो ? " यस्ता अनगिन्ती प्रश्नले निशालाई रिङ्ग्याउँदै थियो । उनी मानसिक रुपले क्षतबिक्षत हुन थालेकी थिइन् ।
रमेशको आगमनमा प्रतिक्षारत निशा रमेशले त्यसरी रक्सी पिएर आउला भन्ने सोचेकी पनि थिइनन् । रमेश आफ्नो शरीर थेग्न नसक्ने भएर आएको थियो । तै पनि निशा आफ्नो भावनाहरू व्यक्त गर्न आतुर थिइन् । आफू कसरी दोषी भैयो र निर्दोष साबित गर्न के गर्नुपर्छ, सबै गर्छु भन्ने वचनबद्ध हुँदा समेत रमेश ढुङ्गाको मुर्ती झैं जडवत बनिरह्यो । आफूले त्यस्तो नराम्रो काम केही नगरेको र सदवब रमेशलाई प्रेम गरेको जिद्दी गर्दै डिभोर्स नगर्न रमेशलाई हरतरहले निशाले अनुनय विनय गरिरहिन् । हार गुहार मागिन् तर रमेश टसमस भएको भएन । मानौं, ऊ बहिरो र लाटो भएको थियो ।
निशाले रमेशसंग डिभोर्स भएपछि जीवनका पछिल्ला चार घुम्तीहरू पार गरिसकेको थियो । मार्च ८ अर्थात नारी दिवसको दिन थियो । निशा महिला आयोगले आयोजना गरेको अन्तरकृयात्मक गोष्ठीमा सहभागी हुन पुरानो बसपार्क हुदैँ सिहंदरबारतिर जाँदै थिइन् । बिहानको ९ बजिसकेको थियो । सडकमा सवारीसाधनको भीड थियो, अनि त्यसमाथि जाम भएको थियो । निकै बेरसम्म पनि बाटो नखुलेपछि निशा गाडीबाट ओर्लिएर अगाडि पुगिन् । निकै भीड देखेर के रहेछ भन्दै भीडको बीचमा हेर्न थालिन् ।
"विचरा कोही रहेनछ क्यारे । नत्र किन अलपत्र हुन्थ्यो यो बीच सडकमा ।"
"कस्तो पागल रहेछ कहीं नपाएर यो बीच सडकमा आएर लम्पसार परेर हामीलाई यो सास्ती "
"विचरा चुक् चुक् ।"
"कस्तो निष्ठुरी है यसको परिवार । सडकमा ल्याएर पो छाडिदिएका ।"
भीडको आक्रोसहरू यस्तै यस्तै गरी व्य्क्त हुदैँथियो । निशा पनि भीडमा पसिन् अनि घटनलाई नियालेर हेर्न थालिन् । त्यो परिचित अनुहार नै थियो । सबैले पागल उपनाम दिएर सम्बोधन गरिरहेको व्यक्ति अरु कोही नभएर उहि रमेश थियो । रमेशलाई त्यो हालमा देखेर निशाले आफूलाई सम्हाल्न सकिनन् । भावविह्वल हुदै रमेशको शरीरमाथि घोप्टो परेर आफ्ना वेदनाहरू आशुँको रुपमा छताछुल्ल पारेर पोखन थालिन् । केही बेरपछि आफूलाई सम्हाल्दै रमेशलाई बीर अस्पताल पुर्‍याउने बन्दोबस्त मिलाइन् ।
"तपाँईको बिरामी अहिले सामान्य अवस्थामा छ तर ऊ शारीरिक रुपलेभन्दा पनि बढी मानसिक रुपमा अशक्त भएको हुदाँ तत्कालको लागि औषधीभन्दा पनि माया, स्नेह, प्रेमले नै सन्चो हुन्छ । "
डक्टरको यस्तो कुरा सुनेर निशा स्तब्ध भएकी थिइन् । निकैबेर सोचेपछि निशाले रमेशलाई आफ्नै कोठामा लगिन् । रमेशमा चेतना शुन्य बराबर नै थियो । कहिलेकाहीं बर्बराउथ्यो । निशाको नाम पनि लिने गर्दथ्यो । अनि डर मान्दै निशाको हाताहरू समात्न पुग्थ्यो । निशामा एक प्रकारको अनौठो एकहोरोपनाले समातेको थियो । बाहिर कतै नगई सिर्फ रमेशको हेरचाहमा आफ्ना दिनहरू समर्पित गर्न थालेकी थिइन् । खै किन हो, किन रमेशको त्यो माया लाग्दो अनुहार देखेर निशामा परिवर्तनहरू देखा पर्न थालेको थियो । रमेशको हरेक आवश्यकताहरू परिपुर्ति गर्न हरदम तयारी अवस्थाम हुन्थिन् । खाना-पिनादेखि लिएर नुहाई-धुवाई सम्मको जिम्मेवारी पुरा गर्दै थिइन् । अहोरात्र रमेशको सेवामा लिन निशा कुनै पनि कार्यक्रममा पनि सहभागी हुन जाँदिन थिइन् । निशाको यहि निस्वार्थ सेवा र मायाको कारण रमेशमा चेतनाहरू पुर्नप्राप्ति भयो । आफ्ना स्मृतिहरूको प्राप्ति पश्चात रमेश आफूले निशालाई बुझ्न नसकी उनीप्रति गरेको दुर्व्यवहार सम्झदैँ आफूलाई धिक्कार्न थाल्यो । निशाको त्यो निस्वार्थ प्रेमले रमेशमा आत्मग्लानि गराइदियो । यस्तो निश्चल, अबोध नारीमाथि अरुको चुक्ली सुनेर दिएको प्रताडनाहरू सम्झदैं रमेशले अपराधबोध गर्न थाल्यो । आफूलाई कुनै अपराधी झैं बोध गर्दै निशासँग माफी माग्ने अठोट गर्यो ।
शनिबारकै दिन थियो । रमेश चट्ट दाह्री, कपाल काटेर निकै रमाईलो मनस्थितिमा देखिन्थ्यो । निशा पनि भर्खर नुहाएर चिसै कपाल फिजाँउदै आइपुगेकी थिइन् । रमेशले कुरा निकाल्यो, "निशा थाहा छैन तिमीले मलाई माफ गर्‍यौ कि गरेनौ ? तर पनि मेरो तिमीसँग एउटा विन्ती छ । म ती वितेका दुखद पलहरूको सट्टामा खुसी दिन सक्छु सक्दिन । त्यो त मलाई ज्ञान छैन । तै पनि मलाई माफीको लायक देख्छौ भने मेरो एउटा अनुरोध छ । त्यो स्वीकार्ने नस्वीकार्ने तिम्रै हातमा छ । के तिमी मसँग पुर्नजीवन व्यतित गर्न तयार छौ ? "
निशा एकतमासले रमेशलाई हेरिरहन्छिन्, हेरिरहन्छिन् । निशा अनुत्तरित हुन्छिन् । उनी कतै भावनामा विलिन हुनपुग्छिन् । अनन्त गहिराईमा ।

आमा बन्ने रहर


रात परिसकेको थिएन, बत्ती भने बलिसकेका थिए। "के छ हालखबर यार !" अलि हतारिँदै हिक्मत आइपुग्यो। विशाला केही पहिले आइपुगेकी थिइन्।
चल्तीको भाषामा, उनीहरू गर्लफ्रेन्ड-ब्यायफ्रेन्ड हुन्।
"सबै ठीक छ," सामान्य लबजमा विशालाले भनिन्, "खासै केही छैन नयाँ।" हिक्मतले केही बोल्न नपाउँदै महत्त्वपूर्ण कुरा छुटाएको हडबड शैलीमा विशालाले फेरि भनिन्, "स्मृति प्रिग्नेन्ट भइछ।"
स्मृति विशालाकी साथी हुन्। स्मृतिको बिहे केही वर्षअगाडि भएको थियो।
हिक्मत अचम्ममा पर्‍यो। स्मृति 'प्रिग्नेन्ट' भएकाले ऊ अचम्ममा परेको थिएन। हालखबरको सञ्चार दोहोरो हुन नपाउँदै विशालाले त्यसरी आत्तिएर आफ्नी साथी प्रिग्नेन्ट भएको सुनाएकीले ऊ अचम्मित भएको थियो।
"ओ...कङ्ग्रयाच भनिदेऊ है !" हिक्मतले औपचारिकता बोल्यो। स्मृतिलाई उसले अप्रत्यक्ष रूपमा विशालाको साथीका रूपमा चिनेको थियो। स्मृति पनि हिक्मतलाई विशालाको साथीका रूपमा चिन्थिन्।
'चिसो' आइपुग्यो। विशालाले अघि नै अर्डर गरेकी रै'छिन्।
"अरू के ल्याऊँ सर?" वेटरले भन्यो। यतिखेर उनीहरू रेस्टुराँमा थिए, हर साँझ यसैगरी भेट्थे। भेट्न अनुकूल नमिलेको दिन उनीहरू मोबाइलमा लामै कुरा गर्थे।
विशाला प्राइभेट बैँकमा जागिरे थिइन्। उनको पद र आम्दानी राम्रै थियो।
वेटरको प्रश्न सरलाई थियो, मिस बोलिन्, चिकेन मःम ल्याऊ एक प्लेट...अहिलेलाई।" अहिलेलाई मःम मात्र मगाउनुको अर्थ थियो, आज लामै समय बस्ने मन रहेछ विशालाको। जबकि, हिक्मत एक घन्टाको समय मिलाएर आएको थियो। ऊ राष्ट्रिय स्तरको दैनिक पत्रिकामा आबद्ध थियो, राति बढी व्यस्त हुन्थ्यो।
वेटर गइसकेपछि विशालाले लाडिएको स्वरमा भनिन्, "मलाई पनि रहर लागिसक्यो।" हिक्मतले बल्ल बुझ्यो, विशालाको मुड। विशालाको दिमागमा स्मृतिको प्रिग्नेन्सी नाचिरहेको रहेछ।
नबुझेको झैँ गरी हिक्मतले भन्यो, "हिजै मात्र खाएको होइन चिकेन मःम, कति रहर लागेको !" हिक्मतलाई अभिनय गर्न त्यति आउन्नथ्यो। अनुहारमा जिस्किएको भाव प्रस्ट थियो, विशालाले बुझिहालिन्।
"के गर्नु, चिकेन मःम खाएर प्रिग्नेन्ट भइँदैन।" विशाला पनि जिस्किइन्। तर, हिक्मतलाई यस्तो सुन्दा बेमज्जा लाग्यो। थोरै रिस पनि उठ्यो उसलाई।
"जिउँदै भाले खाऊ न त...!" यस्तै भन्न खोजेको थियो हिक्मतले तर हिम्मत गरेन।
विशालाले जिस्किएर भनेको कुरालाई उसले पचाउने सामर्थ्य देखायो।
आफूले अलि बढी बोलेछु भन्ने भान विशालालाई भएछ। हिक्मतले अलिकति मन दुखाएको जस्तो बुझिन् उनले। उनी पनि कम होसियार त थिइनन्। ३२ लक्षण त कसमा पो हुन्छ र !
उठेर हिक्मतसँगै आएर टाँसिएर बसिन्। अघिसम्म उनीहरू आमनेसामने बसिरहेका थिए।
विशाला नजिक आएर बस्नासाथ हिक्मतको मुड फ्रेस भयो। नारीको एक स्पर्शले पुरुषहरूमा धेरै ठूलो असर गर्दो रहेछ। जब विशाला हिक्मतको काँधमा ढल्किइन्, उसले एकछिनका लागि संसार नै भुल्यो।
"सरी राजा !" विशालाले स्पष्टीकरण दिइन्, "ठट्टा मात्रै गरेकी।"
"इट्स ओके मैया !"
विशाला 'राजा'मा आउँदा, हिक्मत 'मैया'मा उक्लियो।
राजा भुल्यो, अफिसमा गई पत्रिकाको सेटिङ्मा लाग्नुछ। मैयाले सम्झाइन्, "काममा जानुपर्दैन त !"
मैयाको ज्ञानीपन देखेर राजा खुसी भए। तुरुन्तै मोबाइल झिके, "मलाई अबेला हुन्छ है, तिमी गर्दै गर।" मन खाएकी साथी पाए केटाहरू जे पनि गर्छन्, संसार भुल्छन् भन्ने कुराको प्रमाण बनिदिए राजा। उनले अफिसको साथीलाई फोन गरेका थिए।
त्यो साथीलाई थाहा थियो हिक्मतको 'चक्कर'। परेको म बेहोरुँला भनी उसले आश्वस्त पारेछ।
मःम सकियो।
"कोठामा गएर अब के खाना पकाउनू...!" विशालाले मात्र सुन्ने गरी हिक्मतले यति मात्र भनेको थियो, विशाला खुसी भइन्, कुरा बुझिन्।
त्यसपछि बर्गर आइपुग्यो। बर्गरपछि अरू पनि थुप्रै परिकारहरू आए। खानेकुराजस्तै उनीहरूका गफहरू पनि मीठा भए।
दुवै छुट्टिए। राजा पत्रिकाको अफिसतिर गए। मैया डेरातिर गइन्।
---
राति विशाला ९ बजेतिरै बेडमा गइन्। उनलाई निन्द्रा भने लागिरहेको थिएन।
तकिया थिचेर घोप्टो पल्टिरहेकी थिइन्, स्मृतिको प्रिग्नेन्सी याद गर्दै।
"बिहे, बच्चा, सबै वाहियात हुन्," कुनै बेला उनी आफैँ भन्थिन्। एकचोटि स्मृतिसँगै यही विषयमा विवादसमेत भएको थियो। आज भने उनी बेचैन थिइन्, स्मृतिभन्दा आफूलाई कमजोर महसुस गर्दै थिइन्।
उनको सुत्ने पोजिसन फेरियो। तकियालाई छातीमा राखिन्। विचरा तकिया !
तकियालाई हिक्मत बनाइन् र गफ गर्न थालिन्।
"मलाई त छिट्टै चाहिन्छ है !"
हिक्मतको डायलग पनि उनी आफैँ बोल्दै थिइन्।
"नौ महिनाभन्दा छिटो त कसरी गर्नू र !"
"पृथ्वीनारायण शाह त सातै महिनामा जन्मेका रे नि त !" उनको जिके राम्रै थियो।
"नरभूपाल शाहका श्रीमती त दुईवटा थिए नि !"
दुइटी श्रीमतीको कुरा सुन्नेबित्तिकै विशाला रिसइन्। तकियालाई हिक्मत ठानी दुई-चार मुक्का बर्साइहालिन्, बच्चीले आफ्नो बाबालाई कुटेजस्तो गरी।
राति ११ बजेतिर विशालाले एसएमएस गरिन्, "निन्द्रै लागिरा'छैन डियर...।"
हिक्मतले जवाफ दियो, "सुतिहाल, बिहान छिट्टै उठ्नुछ तिमीले।"
"किन?"
पत्रिका पढ्न जोड दिएर हिक्मत बोल्यो, "मैले दामी कथा लेखेको छु, खास तिम्रै लागि।"
"आफूलाई निन्द्रा लागिरा'छैन, पत्रिका पढ्नुछ, छिट्टै सुत रे !" मैया भित्रभित्रै चूर भइन्, "भोलि त झन् पढि्दन पत्रिका।" कोल्टे फेर्दै एक्लै मुरमुरिँदै थिइन्, "सुत्ने बेला यसो किससिस पनि दिनु छैन..., लेडिज स्टाफसँग गफ मार्दै होला आफू।"
हिक्मत भर्खरै पत्रिकामा आबद्ध भएको थियो। उनले छोटो समयमा आफ्नो फरक लेखनको माध्यमबाट राम्रै नाम बनाएको थियो।
हिक्मत काम गर्ने पत्रिकाको शनिबारको अंक विशेष हुन्थ्यो। जसमा पत्रिकाको नियमित खुराकका अलावा कलासाहित्य र मनोरञ्जनका छुट्टै विशेषांकहरू समाविष्ट हुन्थे।
साहित्यमा हिक्मत अक्सर कथा लेख्थ्यो। कथाको पहिलो रेस्पोन्स सधैँ उसकी मैयाले दिने गर्थिन्। यथार्थमा, हिक्मतका हरेक सिर्जनाहरू पत्रिकामा आउनुअघि नै विशाला पढ्ने गर्थिन्।
"तिमी मेरो पहिलो पाठक," हिक्मत सधैँ विशालालाई भन्थ्यो। विशाला पनि मख्ख पर्थिन् र पाठकको दायित्वबोध गर्थिन्। कतिपल्ट त हिक्मत आफ्नै मैयालाई कथामा जोड्ने पनि गर्थ्यो।
आजको कथाबारे भने विशालालाई जानकारी थिएन।
---
विशालालाई बिहान पत्रिका लिन जान हतार थियो। किनभने, यो पहिलो सिर्जना होला हिक्मतको, जसलाई उनले पत्रिकामा आउनुपूर्व पढेकी थिइनन्। उनी ज्यादा उत्सुक थिइन्।
सबेरै पसलबाट ब्रेड, अन्डा, दूधसँगै उनले पत्रिका ल्याइन्।
'आमा बन्ने रहर' शीर्षकमा कथा छापिएको थियो। हुनेवाला जीवनसाथीले कथाको रूप दिएर पत्रिकामा आफ्नै सन्दर्भ छापेकामा उनी साह्रै खुसी भइन्।
तुरुन्त हिक्मतलाई फोन गरिन्। हिक्मत सुतिरहेको थियो। बिहान उठेर एकैचोटि भात खान्छ ऊ।
"अनि, किन नाम चेन्ज गरेको त?" विशालाले गुनासो गरिन्।
विशालासँग ९९ खुसी थियो, एक गुनासो। तर, उनले सुरुवात खुसीबाट नगरी गुनासोबाट गरिन्। सम्भवतः यो नारी चरत्रि थियो।
कथामा हिक्मतले आफूलाई हार्दिक र विशालालाई शृंखला नामले चिनाएको थियो। यसमा विशाला असन्तुष्ट थिइन्।
"कि कोही छ, शृंखला भन्ने अर्कै केटी !" विशालाको यस्तो ठट्टा सुन्दा हिक्मतलाई बेमज्जा लाग्यो।
दुवैलाई थाहा थियो, पवित्रतामा उनीहरूबीच प्रतिस्पर्धा थियो।
हिक्मतलाई निन्द्रा परेन। समयभन्दा अगाडि नै ऊ उठ्यो।
हिक्मत नुहाउँदै थियो। गुन्गुनाउँदै थियो, 'रहने दो छोडो भी जाने दो यार, हम ना करेंगे प्यार !'
विशालामाथि बेलाबेला भूत सवार हुने गर्थ्यो। जे पायो त्यही बोल्थिन्। पहिले शंका गर्थिन्, पछि ठट्टा हो भन्थिन् र माफी माग्थिन्।
नुहाउँदै गर्दा हिक्मतको मुड त्यति फ्रेस हुन सकेको थिएन। "कि कोही छ, शृंखला भन्ने अर्कै केटी !" यही सम्भिरहेको थियो ऊ।
एकछिनमा एसएमएस आयो, "थ्यांकयू राजा ! मैले कथा चारपटक पढेँ, जति पढ्यो, पढूँ-पढूँ लाग्छ।"
हिम्मत जहाँ गए पनि मोबाइल साथमै राख्छ। उसलाई गाली खानु छैन, मैयाबाट ! कतिपल्ट त, ट्वाइलेटमा बसेको बेलामा समेत कुरा हुने गरेको छ उनीहरूबीच।
हिक्मतले पत्रिकामा लेखेको कथा उनीहरूको वास्तविकताभन्दा दुई कदम अगाडि थियो। कथामा शृंखलाको आमा बन्ने रहर पूरा भइसकेको हुन्छ।
"बधाई छ हार्दिकजी, तपाईं बाबु बन्नुभएको छ," नर्सको यही संवादसँगै कथा सकिएको हुन्छ।
हिक्मतले एसएमएसका अक्षरहरूभित्रै विशालाको अनुहार देख्यो।
विशाला भन्दै थिइन्, "अनि छोरा भयो कि छोरी, त्योचाहिँ खुलाउनु पर्दैन कथामा।"
हिक्मतलाई थोरै रिस उठ्यो, आजीत भएझैँ गरी भन्यो, "होइन मैया, जुम्ल्याहा भएका छन्, एउटा छोरा, एउटा छोरी ! अब भयो।"
"यू आर माई स्वीट डियर !"
विशाला मोबाइलबाट बाहिर निस्किएर हिक्मतको भिजेको गालामा किस गरिन्।
उसले पनि मोबाइलभित्रकी मैयालाई किस गर्‍यो।
आफ्नो पागलपनदेखि हिक्मत मुस्कुरायो ।
उसलाई लाग्यो, संसार धेरै सुन्दर छ ।

अँध्यारो रातमा रहस्यमय


निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलाई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी खेल्दै ।
हो, म त्यहीँ अँध्यारोभित्र आफूलाई खोज्दै अनुमानसँग अनुभव धरौटी राखेर पार गर्छु तमोर नदी एउटा सानो लठ्ठीको सहायताले । हुन त त्यति जवान भएकी छैन ऊ तर पनि नदी, खोला नतरेको मेरो बानी ढुङ्गामा लागेको लेउ करौती बन्छ मेरो साहसलाई टुक्र्याउन अनि त गुहार माग्छु नर्कटको सिम्किनुसँग ।
ओ हो ! मान्छेलाई ज्यानको माया कति बिघ्न, पिडौंला पिडौंला आउने पानीको बेगले के मलाई ढाल्दो हो र ? लौ ढाली हाले पनि त बगाउने क्षमता हुँदैन नि, बिचरो म वनको बाघ भन्दा मनको बाघले सिध्याउँछ एउटा खतरनाक हाउँगुजी बनेर । त्यसैबाट बच्न लठ्ठीसँग हारगुहार मागेको हुँ नदी तर्नु अगाडि ।
तमोर नदी तरिसकेर लामो श्वास तान्छु ठूलै युद्ध जितेझैँ बगरको ढुङ्गामा टुसुक्क बसेर । अब जुत्ता मोजा लगाउनुपर्छ भन्ने मानसिकता बन्दा नबन्दै म भन्दा बीस हात तल नदीबाट एउटा स्वास्नी मान्छेको चिच्याहट मेरो कानको जालीसम्म आइपुग्छ हावामा तरङ्गित हुँदै–
“बचाऊ बचाऊ, मलाई खोलाले बगाउन लाग्यो बचाऊ ।”
रातको मध्यग्रह, चुक पोखिएझैँ अँध्यारोको बर्चस्व, सुनसान नदीको बगर, को हुन सक्छ यतिखेर ? यहाँ नदी तर्दै फेरि बगाउने पानीको प्रवाह पनि छैन । कसैले मलाई छक्काउँदैछ भनुँ भने पनि एउटा स्वास्नी मान्छे कसरी सम्भव छ यो ? मनमा कुरा खहरे भएर उर्लदा म जुत्ता लगाउँदै खोल्दै पो गर्दोरहेँछु, उताबाट चिच्याएको आवाजसँग स्वयम् म आफैँ विचलित भएर ।
आवाज आइरह्यो म आवाज चपाउँदै मौन भएँ ढुङ्गाको मूर्ति जस्तो कसोकसो निर्जीव बनेर, आवाजले छाएन पनि भन्न सक्ने अवस्था छैन सोचाइ चुल्ठी परेर लहरिएकै हो । छोयो कसरी भनौँ गएर नदीबाट ती महिलालाई बगरमा ल्याउने बेलासम्म ठिङ्ग खामो झैँ स्थिर छु म ।
करिव दश मिनेट जति पछि जुत्ता त्यहीँ बगरमा फालेर तुफान बनी पुग्छु महिला भएको ठाउँमा, अँध्यारोमा आवाजलाई पच्छ्याउँदै अनुमानको भरमा । छामेर पाखुरा घिसार्दै किनारा तिर ल्याउँछु,उनी अझ सुकसुकाउँदै छिन् ।
उनको सुकसुकाइले उनी निकै आपतमा परेकी रैछन् भन्ने लख काट्छु म । ‘चिन्नु न जान्नु घचेटी माग्नु’ अरू समय त्यहाँ रोक्किएर समय खर्चनु थिएन मलाई । फरक्क फर्केर सरासर माथि जान्छु जुत्ता मोजा राखेको ठाउँ पत्ता लागेन अँध्यारोमा कता हो कता ।
छामछुम खोजखाज गर्छु केहीबेर, अब खाली खुट्टाले पैताला दर्फराउँदै लाग्नु पर्ला उकालो, व्यर्थै एउटीलाई बचाइ टोपल्न जाने भैखाको नयाँ जुत्ता गुमाउनुपर्यो । गुनासो पोख्छु आफँैलाई, उकालो लाग्न थाल्छु बानी भए पो खाली खुट्टाले हिँड्ने, ढुङ्गाका गेगरले बिझाएको आभाष तालुसम्म छ पैतालादेखि ।
“सुन्नुस् त ! तपाईंको जुत्ता यी यहाँ छ, लगाउनुस् ।”
म फरक्क फर्कन्छु आवाज आएतिर, कालो आकृति ठिङ्ग छायाँझैँ बनेर उभिन्छ अगाडि ।
“तिमी ! अघि त नदीले जिउँदै निल्ला जस्तो गरेर च्याँठिदै थियौ, रून पुग्यो र यहाँ आएकी ?”
“तपाईले जुत्ता खोज्नु भएको मलाई थाहा थियो त्यसैले पुर्याउन आएकी ।”
म उनको हातबाट जुत्ता लिएर त्यहीँ बसी लगाउँछु । मैले जुत्ता लगाउन्जेलसम्म पनि उनीसँगै उभिन्छिन् बिना संवाद चुपचाप । जुरूक्क उठेर म हिड्न लाग्दा –“जाऊँ पनि भन्नु हुँदैन तपाईं, छि कस्तो निष्ठुरी ?” उनी नाकेस्वरमा लाडिदै बोल्छिन् ।
“तिमी को हौ, कहाँबाट आयौ, कता जाने हौ मलाई के था कुल घरानकी चेलीबेटी यति राति हिड्दै हिडदैनन् त्यो पनि एक्लै के आधारले जाऊँ भनू म ?” अगाडि बढ्दै बोल्छु म ।
“तपाईंले सोधे पो मैले बताउनु, बोल्न पनि पैसा पर्ला जस्तो गर्नुहुन्छ अनि ।” ठुस्किदै पछिपछि आउँछिन् उनी ।
“लौन त मैले सोधेँ अब त भन, कहाँ हो तिम्रो घर ?” तपाईंको भन्दा पल्लो गाउँ हो मेरो, म गा.वि.स. सचिव अमरनाथकी कान्छी छोरी छायाँदेवी हुँ, हुनसक्छ तपार्ईंंले मलाई चिन्नु हुन्न ।”
“तिमीले चाहीँ मलाईं चिन्छौ र ?” अँध्यारोको शून्यतालाई थप्पड हिर्काउँदै उनी खिलखिलाएर हाँस्छिन् पाखा पर्वत थकाउँदै, कसोकसो मीठो लाग्छ मलाई त्यो हाँसो कतै आफ्नोपन घोलिएझैँ । “नचिनेको मान्छेको जुत्ता पुर्याउन मलाई के खाँचो ?” उनी फेरि हासिन् त्यसरी नै ।
“भन न त म को हुँ ?” हिँड्दा हिँड्दै ढिस्कोमा रोकिएर सोध्छु म । सारै थाकेझैँ मेरै छेवैमा फ्यात्त बसेर भन्छिन् ।
“तपाईं स्कुलको हेडसरको कान्छो छोरा उमङ्ग, तपाइकी दुई दिदी र एक बहिनी पनि छन् । जेठा दाजु मलेसिया जानु भएको छ । बुबा हाल अवकास जीवन बिताउँदै हुनुहुन्छ ठीक हैन त ?”
ओ हो ! जन्मदिने बाबुले त जन्मकुण्डली बताउन सक्दैनन्, उनले त नालीबेली खोतलिन्, म कसरी उनलाई अपरिचित भनौँ र यात्राबाट छुट्टयाऊँ त्यसो त परिचित भनेर पनि भन्न सक्दिन । अवस्था त्यस्तै सिर्जना छ ।
“लौ माने वा तिमीलाई, मेरो त जन्मकुण्डली नै पो थाहा रैछ त अनि भन यति राति कहाँ गएर आएकी त्यो पनि एक्लै ?”
“सहर गएकी थिएँ बाटोमा गाडी बिग्रेर ढिला भयो, साथी थिए नि उता पारी जाने उतै गए ।”
“बजारमै कसैकहाँ बास पनि त बस्न सक्थ्यौ नि, यति राति नदीमा डुबेर चिच्याउनुको कारण, के साँच्चै नदी तर्नै नसकेर हो त ?”
उनी फेरि हाँस्छिन् ।
“छिः तपाईं त असाध्यै सोझो हुनुहुँदो रैछ । श्रावणको भेल त एक्लै तर्ने म चैतमा सुकेको नदी तर्न सकिनँ हुँली त, तपाईंलाई बोलाएकी नि मैले ।” उनी डाँडा गुन्जिने गरी हाँस्छिन् ।
जति जति उनी हाँस्दै जान्छिन् त्यति त्यति मलाई उनको सामीप्यता मीठो न्यानो लागेको छ आभाष, अँध्यारोलाई चिर्दै नियालेर अनुहार हेर्ने चेष्टा गर्छु एकदम धमिलो देखिन्छ मुहार तैपनि राम्री लाग्छ पूर्णिमाको जून जस्ती । नाक ठोक्किने उकालोमा साथी भेट्दा खुसी नै छु म । नत्र हस्याङ्ग फस्याङ्ग गर्दै एक्लै पो उक्लनु पथ्र्यो उकालो । कमसेकम मुख बोलाऊ त भेटेको छु ।
“जाऊँ होला अब त दशभाग उकालोमा दुई भाग पनि कटेको छैन उज्यालै होला जस्तो छ घर पुग्दा ।” उठेर बाटो लाग्दै भन्छु म ।
उनी पनि आङ तन्काउँदै पछि लाग्छिन्– “के भो त बल्ल बल्ल घर फर्केको छोरा उज्यालोमा धितमरून्जेल नियाल्नु हुन्छ झन बुबा आमाले ।” च्याप्प समाउँछिन् पछाडिबाट हात, म रोकिन्छु हिंड्दा हिंड्दै ।
“के गरेकी तिमीले बाटो साँघुरो छ त्यसमाथिको अँध्यारो अलिकति गोडा चिप्लियो कि शरीर नदीमा, प्राण कता हो कता ?”
“तपाईंलाई जिउको त्यति माया लाग्छ ?”
“जिउको माया कसलाई लाग्दैन र ? माहुरी त आफूलाई बचाउने बहानामा सुरक्षा गर्ने निहुँमा मान्छेलाई खिलेर मर्छ भने म त मान्छे प्राणी जगतकै सर्वश्रेष्ठ जात, अर्कालाई किन त्यसो भन्नु नि घुँडा घुँडा पानीमा बगेर मर्छु भन्दै चिच्यायौ आफू ।”
“मैले पहिले नै भनिसकेँ तपाईं हेर्दै चम्बू, बाठो भए पनि मूर्ख हुनुहुँदो रैछ । के म आफ्नो प्राण जोगाउनकै खातिर चिच्याएकी हुँला र ? के म त्यस्तो सारै डरपोक देखिन्छु हेर्दा नै ?” हिड्दा हिड्दै टक्क रोकिन्छिन् उनी अलि अगाडि नै पुगिसकेको छु म । चानुमानु नभएपछि फर्कन्छु पछाडि उनी बीच बाटोमै बस्छिन् थचक्क ।
“किन के भयो र बसेकी, बाटैमा ? घर जान मन छैन ? छैन भने म जान्छु तिमी यतैकतै ओडारमै बस । अँ ओडार त कहाँ पाउनु भीरको ठूलोे ढुङ्गा मुनि बस ।”
म हाँस्दै फर्कन्छु उनी भएतिर ।
“हेर्नुस् न आज बिहानदेखि मेरो मुखमा एक घुट्को पानीसम्म परेको छैन साह्रै थाकेकी छु । भोक, प्यास र थकानले गर्दा तपाईं मलाई केही सहयोग गर्नुस् न बिन्ती छ, यी हेर्नुस् (अँध्यारोमा पनि हातले इसारा गर्दै) हात गोडा लल्याक लुलुक भएका छन् । पाइलै सर्दैन पटक्कै अगाडि, म कसरी हिडौँ ?”
“उफ ! कहाँको घाँडो आइलाग्यो अँध्यारो रात सुनसान जङ्गलको ठाडो उकालो बाटो, तल तमोर नदीको सुसाइ, चरा मुसाको चालसम्म थाहा नपाइने यो ठाउँमा म कसरी तिमीलाई भोजनको व्यवस्था गरौँ ? फेरि सदा त यो बाटोमा उक्लदा झोलामा केही न केही च्यापेर आउँथे सन्जोग आजै रित्तै छु ।”
म फतफताउँछु उनी सामु बसेर, अफ्ठेरोमा फलेको फर्सी जस्तो हुन्छिन् उनी न टिप्न सक्छु न छोड्न नै ।
“ठीकै छ त तपाईं खानाको व्यवस्था पनि गर्न सक्नु हुन्न, म तपाईंको लागि साँच्चै घाँडो भएकी भए जानुस् छोडेर, म यहीँ बसेर रात कटाउँछु । कति रात पो बाँकी होला र ?” घुर्किसँगै सुकसुकाउँन थाल्छिन् उनी । समस्या समाधानको गतिलो बाटो नभएपछि दिनभरि बाँझो बारी जोतेर थाकेको गोरूको जस्तो लामो सुस्केरा तान्दै उनीसँगै थचक्क बस्छु म ।
“छैन तपाईंसँग कुनै विकल्प, यानेकि उपाय ? छिः कस्तो नामर्द, यहाँ एउटी भोकी प्यासी अशक्त महिला लखतरानमा बसेकी छे, उता तपाईं भने कति ढुक्कले सुसेल्दै बस्न सक्नु भएको, हे भगवान ! उपाय दिनुस् यी मर्द भनाउँदालाई ।” दुई हात जोडेर फर्किन्छिन् सप्तऋषितर्फ ।
“ओ हो ! सप्तऋषि यतिमाथि आइसकेछन् अब धेरै छैन उज्यालो हुन, हिँड बिस्तारै अब एक डेड घण्टा हिड्यौँ भने त घर आइहाल्छ म त्यहीँ खानाको प्रबन्ध मिलाई दिउँला ।”
बच्चालाई नाना पापा दिन्छु भनेर फकाए जस्तो उनलाई फकाउन खोज्नु मेरो अथक प्रयास बालुवामा पानी पोखिँदाझैँ ओभानो बन्छ, थकाइ त मलाई पनि लागेको छ भोकले आच्छु आच्छु म पनि भएको छु तर भनौँ पो कसलाई यो जङ्गलको बाटोमा ।
केही समय हामी दुवै मौनतामा लुकामारी खेल्छौँ । पर क्षितिजसम्म मौन संवादको धारा प्रवाह बग्छन् मसँग सवालका उद्बेगहरू नै लहरिन्छन् । मौनताले चिमोट्छ हामी दुवैलाई, ऐया आत्था बनाउँदै । सुसेलिरहन्छ बतास, चलमलाई रहन्छन् सल्लाका डाली । बाटोको दायाँ बायाँ तलमाथि नियाल्छु म सालको ठुटो बाघ र स्याल बनेर बसेको छ । कस्तो अचम्म मनले जे सम्झियो त्यही आकृति खडा भैदिन्छ अगाडि । सोचाइ, सम्झाइ र भोगाइ त्यसैले पनि पृथक बनेको हुनसक्छ । सोचाइको खिचडी पकाएँ मैले मौनतालाई सापटी लिएर ।
“लागेन त तपाईंको कुनै उपाय ?”
एकाग्रतालाई भताभुङ्ग बनाउँदै बोल्छिन् उनी ।
“अँहँ ! मेरो उपाय भन्नु यो उकालो काट्नु हो, तिमी पटक्कै पाइला चाल्दैनौ कसरी सम्भव छ यो ?”
“जाऊँ उसो भए ।”
फूर्तिसाथ जुरूक्क उठ्छिन् उनी र हातमा समातेर उठाउँछिन् मलाई पनि जुरूक्क ।
“ऊ हेर त्यो पल्लो डाँडामा मेरो साथीको घर छ, यहाँबाट तेर्सो तेर्सो त्यस्तै दश मिनेट पनि हिड्नु पर्दैन आज त्यहीँ गएर बसौँ न ल, हुन्छ भन्नुस् न क्या, हुन्छ भन्नुस् ।”
उनी पाँच वर्षको अबोध बच्चालेझैँ मेरो दुवै हात समातेर उफ्रन थाल्छिन् । कसरी नाइँ भनौँ तर त्यहाँ त जङ्गल नै जङ्गल छ कसरी उसको साथीको घर भयो ? एकमन यसरी सोच्छु भने अर्को मन जागिरको सिलसिलामा गाउँ नफर्केको आठ दश वर्षै भयो म । त्यसको अवधिमा घाँस र पानीको सुविधा खोज्दै कोही बसाइ सरेर आयो होला, तर ............ भीरमा घर बनाएर जग्गा अवादी गरी बस्नु पनि कम कठिनको कुरा होइन । उनको कुरामा विश्वास गरेर सहमति जनाउँदै लाग्छु म उनकै पछिपछि ।
घुँडाघुँडा आउने सिरू काँसलाई काइयोले कपालको सिउँदो बनाएझैँ गोरेटो बनाउँदै उनी अघि लागिन् सल्लाका स–साना पोथ्रा पन्छाउँदै म त्यही गोरेटोमा घाँसलाई समाउँदै छामछाम छुमछुमको तालमा उनकै पछि लाग्छु । हल्का ओरालो जस्तो कहिले उकालो जस्तो बाटो पार गर्दै अलिकति अगाडि बढेपछि बत्ती बलेको देखिन्छ ।
“ल हेर्नुस् आउनै लाग्यो हैन त ?”
उनी उत्साहित बन्दै छिटोछिटो हिंड्छिन् त्यो जङ्गलको भीरको बाटोमा पनि, मानौं त्यो कालोपत्रे गरेको सडक हो र उनी वर्सौैदेखि हिडेकी छिन् त्यहाँ तर मलाई एउटा पाइला अगाडि बढाएपछि अर्को पाइला चाल्नै पाँच मिनेट लाग्छ । पहिला त खुट्टाले छाम्नुपर्यो खाल्टो छ कि डाँडा छ, ढुङ्गा छ कि काँडा छ बल्ल पाइला टेक्छु मचक्क । जे होस् उनी अगाडि बढेर पनि मलाई पर्खन्छिन् र फर्केर आई हात समातेर हिड्न सहयोग गर्छिन् ।
नभन्दै हिंड्न सुरू गरेको थोरै मिनेटमा नै एउटा भव्य महलको कम्पाउन्ड बाहिर पुग्छौँ हामी । बरन्डामा बलेको चहकिलो बत्तीको प्रज्वलित उज्यालोमा उनको सुन्दरता नियाल्छु म । आजसम्म जीवनको मोडमा जति पनि केटी मान्छे देखेँ, भेटेँ सङ्गत गरेँ ती सबै भन्दा सुन्दर अति सुन्दर छिन् उनी । म उनको सौन्दर्यमा टोलाउँदा उनले गेट खोलिन् ।
“आउनुस् न भित्र मैले भनेको ठाउँ आइपुग्यो, के यो ठाउँ साँच्चै रमाइलो छैन र ?” मुसुक्क मुस्काइन् उनी ।
उनको त्यो मुस्कानमा अँगालोभरिको मादकता ह्वात्त छचल्किन्छ ।
मेरो गाउँ, जहाँ मैले चौध वसन्त पार गरी त्यहाँका ढुङ्गा, माटो वन बुटो, खोलानालासँग सम्झौता गरेको हुँ, मितेरी गाँसेको हुँ त्यही ठाउँ जस्तो लाग्छ जहाँबाट दशैं तिहारका लागि भनेर प्रत्येक दिन घाँसका भारी भारी ओसाथ्र्यौँ, दाउराका बिटा ओसाथ्र्यौँ, बाँदर लड्ने भीरमा यस्तो भव्य ऐसानी महल कसरी कसले बनायो महल कुनै राजमहल भन्दा कम छैन, कहाँ नारायणहिटी दरबार भन्दा चौगुना शोभायमान भवन, यस्तो त मैले हिन्दी सिरियल र अङ्ग्रेजी सिरियलमा मात्र हेरेको छु । जहाँसम्म लाग्छ काठमाडौंमा यस्तो घर देखेको छैन आठ वर्से बसाइमा ।
ढोकाहरू सबै खुल्ला, मगमग फूलको वासना, भुइँमा आँखा तिरमिराउने सुन्दर मार्वलमाथि बिच्छ्याइएको गलैंचा, घरका भित्ताहरू सबै टहटह जूनकोझैँ चमक यस्तो लाग्छ घर स्वयम् चन्द्रलोक हो । हामी भित्र पस्दै गर्दा म सोध्छु उनलाई–
“खै त तिम्रा साथीका परिवार अनि साथी ? यत्रो घरमा कतै चानुमानु छैन ।”
उनी एकदम अट्टहासको हाँसो हाँस्छिन् । एउटा कोठाभित्र पसेर सुन्दर सोफामा बस्दै– कोही छैन यो घरमा तपाईं र म मात्र छौ ।”
जुरूक्क उठेर हात समाउँछिन् र मलाई पनि सोफामा राख्छिन् । आफ्नो कपडाको मैलो सर्ला भन्ने पिरले हल्कासँग बस्छु म ।
“तपाईं एकछिन यहीँ बसेर आराम गर्नुस् । म खानाको बन्दोबस्त गर्छु ।” यति भनेर मीठो मुस्कानका साथ उनी पर्दा पछाडि बिलाउँछिन् । म शङ्का, हर्ष, उन्मादले एकैपटक आन्दोलित बन्छु । घरको सजावट वर्णन गरी साध्य छैन । विवाहको मण्डपझैँ सजिएको कोठा, बिलासिताका सामानले पूरै भरिएको छ प्रत्येक सामानलाई नियाल्छु नेपालका पक्कै होइन बनावट हेर्दा त्यस्तै लाग्छ । हेर्दा हेर्दै आँखा तिरमिराउने, ऐनामा प्रकाशको छायाँ पारेर हेर्दाको जस्तो चक्कर लाग्ने चम्काइ एक अदभुत रहस्यमय बनावट ।
महङ्गो सजावटी सामानको अँगालै अँगालोभित्र लुटपुटिएँ, छोपिएँ र हराएँ म । अत्तरबाट निस्केको हावाले चाटिरह्यो मलाई मुटुको कुना कुनामा, घरको भित्ता र भित्तामा जडित सामग्रीले इन्द्रेणी त्यहीँ ओर्लियो । नदी, ताल र झरना भित्र हुल्यो अनि भित्रायो जून तारालाई । म जति जति कोठाको अवलोकन गर्दै जान्थेँ उति मन्द मन्द मात चढ्दै जान थाल्यो रौंरौंमा मदिरा सेवन गरेजस्तो । पानी परेर खुलेको आकाशमा सूर्य मैमत्ता भएर हाँसे जस्तो उन्मादी मुस्कान ओठबाट बर्रर्र पर्रा छुटाउँदै उनी रेशमी पर्दा पन्छाएर कोठामा देखा पर्छिन् ।
“तपार्इंलाई एक्लै बस्दा बोर त लागेन है ?”
चाँदीको टुक्रा जस्तो मोहक रूमालले हात पुच्दै बोल्छिन् उनी । म नाजवाफ उनको सुन्दरतालाई घटघटी पिउँदै छु आफ्नै मनोमानीमा ।
“छिः कसरी काँचै चपाउँला जस्तो हेरिबस्नु भएको तपाईं त, जाऊँ भित्र मैले खाना बनाएँ मात्र हामी दुईको लागि ।”
को हुन् उनी अनि को हुँ म ‘हामी’ दुई अक्षरले खुव रोमाञ्चित बन्छु म । साथमा लाग्छु उनकै पछि अर्को कोठामा ।
डाइनिङ्ग टेबलमा चौरासी व्यञ्जन हामीलाई नै पर्खदै छ, हामी दुई आमने सामने गरी बस्छाँै टेबलमा । खानाको परिकारमाथि दृष्टि लगाउँदै खलखल पसिना छुट्छ मलाई त्यहाँ मैले खाना खानु भन्दा खानाले चपाउन थाल्छ टुक्रा टुक्रा बनाउँदै ।
“तिमीले कति छिटो बनाएकी यी सब ।” म संवादको श्रृङ्खला अगाडि बढाउँछु ।
“अनि के त यी सब मात्र नमुना हुन् तपाईं मसँग नजिकिदै जानुस् न कस्तो कस्तो खाना खुवाउँछु म ?” छड्के आँखा झिमिक्क बनाउँदै बोल्छिन् उनी ।
उनको भनाइको अर्थ बुझ्न सकिन, दिमाग घुम्छ फुइँफुइँ तर पनि तारेको माछा चपाउन भने छाड्दिन म । जे खायो त्यही असाध्यै स्वादिलो पेट भरिन्छ, मन भरिन्न पटक्कै । जीवनमै पहिलो पटक यस्ता खानेकुरा खान पाउँदा म स्वासले ननिल्ने कुरै भएन । अन्तमा, उनले फ्रिजबाट वियर ल्याएर टेबलको गिलासमा खन्याइन् । हामी दुवै चियर्स भन्दै पिउन थाल्छाँै ।
थोरै पिउन नपाउँदै झुमझुम बन्छु म । बसेको कुर्सीबाट उठ्न हम्मे हम्मे पर्छ मलाई, आफ्नै दाइने हातको टेको दिएर खुब होसियारी साथ ओच्छ्यानमा पुर्याउँछिन् उनी । जुत्ता मोजा खोलिदिएकी, सर्ट पाइन्ट फुकाली दिएकी कता कताको धमिलो दृश्य हेरिबस्छु म । आधा सपना जस्तो अनि आधा बिपना जस्तो । कोठाको प्रकाश अझ धमिलो हुँदै छ आफूले लगाएको साडी र ब्लाउज खोलेर मसँगै पलङ्गमा पल्टेको देख्छु उनी पनि । थाहा छैन उनका हातहरू मेरो शरीरको कुनकुन अङ्गसम्म स्पर्श गर्न पुग्छन् मलाई अझँै अनौठो आनन्द उत्पन्न हुन्छ शरीरभरि तरङ्ग फैलिएर, उनी टाँसिन्छिन् मसँग लपक्क लिसो टाँसिएझैँ त्यसपछि.................. ।
“उमङ्ग ! बाबु ए उमङ्ग बाबु ।” कसैले घचघच्यााउँदै बोलाएको आवाजले झल्यास्स हुन्छु म । बिस्तारै आँखा खोल्छु वारिपारि डोको बोकेका घाँसेहरू झुम्मेर मलाई पो घेर्दै रै‘छन् । माथि घरे कान्छी आमा निधार छाम्दै बोल्नु हुन्छ,
“के भयो छोरा ? यो भीरको फेदीमा खोलाको ढाँडमा किन यसरी सुतेको ”
उहाँको भनाइले आँखा माड्दै जुरूक्क उठ्छु लौ नभन्दै म त दायाँ बायाँ सल्लाघारी, माथि नाक ठोक्किने भीर छेवैमा चिसो हावा ओकल्दै बगेकी तमोर नदी, अचम्म यस्तो ठाउँमा पो सुतेको रैछु ।
खै त हिजो नदीमा भेटेकी महिला ? अनि त्यो भव्यमहल, चौरासी ब्यञ्जन, पेट छाम्छु भोकले आन्द्रा बाउडिएर कुइँय गर्छ । म त नाङ्गै सुतेको थिएँ एकपटक लाज र शरमले पानी पानी बनेर नियाल्छु आफूले आफूलाई नै, शरीरमा कपडा जुत्ता ठाउँको ठाउँमा नै छ । गाउँका घाँसे महिलाहरू टुलुटुलु हेरिबस्छन् मलाई नै । म के जवाफ दिऊँ के भन्न सक्छु र जुन कुरा मेरो जीवनमा हिजो बेलुका घट्यो यो सब उनीहरूले पत्याउने पनि छैनन् । आफूलाई सहज बनाउने प्रयासमा काकी, ठूलीआमालाई हेर्दै बोल्छु म–
“उकालो चढदै थिएँ साह्रै थकाइ लाग्यो र यता आएर यसो पल्टेको उज्यालो भैसकेछ । हजुरहरू घाँस काट्न थाल्नुस् म लागेँ घरतिर ।” उठेर कपडा मिलाउँदै लाग्छु उकालो बाटैबाटो घरतर्फ ।
मन एक तमास सतहझैँ बन्दै जान्छ, स्तब्ध रहन्छ सोचाइ, बिहानीको कलिलो शिशु किरण लत्पत्त पोत्दै छ डाँडा, पाखा र बुटयानलाई, घामको मायालु स्पर्शमा हेलिएर सुस्त सुस्त बहन्छ हावा, बयली खेलाउँदै रूखका हाँगाहरू । यस्तो लाग्छ राति मेरो जीवनमा घटेको घटनासँग अपरिचित छैनन् उनीहरू । त्यसैले पनि मलाई अप्ठेरो लाग्छ उनीहरू सामु आफूलाई प्रस्तुत गर्नमा ।
सोचाइको हिमश्रृङ्खलामा पालैपालो हिउँ वर्सिएझैँ थप्पथप्प खस्छ मानसपटलमा, कति राम्री थिई ऊ, उसको हँसाइमा सारङ्गीको धुन गुन्जने थियो, बोलाइमा पियानो, हेराइमा त झन जहर नै पो घोलिने यस्ती आइमाई देखिन आज सम्मको जीवन भोगाइमा । त्यो वनको खोँचमा कहाँ गयो भव्यमहल, यस्तो अनौठो घटना मलाई नै किन आइलाग्यो भावनाको छालले निथ्रुक्क भिजाउँदा उकालो कटेर घर आएको पत्तैै भएन मलाई ।
आँगनमा खामोझैँ ठिङ्ग उभिएको देख्दा बहिनी खुसीले पुलकित भै छाँद हाल्न आउँछे र पो मलाई आफू घर पुगेको आभाष हुन्छ ।
“म त भन्दै थिएँ आज भोलि नै मेरो छोरा आउँछ, हजुरले नपत्याउनु भएको हैन देख्नु भो त ।” हातमा पूजाको थाली समातेर दैलोबाट बोल्नुहुन्छ आमा । उहाँको ममत्व पोखिन्छ शब्दबाटै ।
“ल त तेरै कुराको जीत, जा कान्छी एक गिलास दूध तताइदे दाजुलाई, उकालो बाटो थाकेर आ‘छ ।” हुक्कामा नली लाएर टर्र टर्र तमाखु तानेर बुङ्ग धुवाँ उडाउँदै बोल्नु हुन्छ बुबा । बहिनी बुबाको वचन भुइँमा झर्न नपाउँदै तुफान बनेर घर भित्र भित्रिन्छे । म फलैंचामा झोला फ्यात्त फालेर त्यहीँ पल्टन्छु ।
“थाकिस् बाबु, के गर्नु यो पाखो जग्गा, दुर्गम ठाउँ । सबै ठाउँमा विकास पुग्छ, बाटो घाटो पुल कुलेसा बन्छन् हाम्रो यो ठाउँमा भने विकासको वि सम्म अनुभव गर्न पाएनौँ हामीले, न मोटरबाटो देख्न पाएँ न बिजुली बाल्न नै यसो सहर जानु आउनु र सदरमुकाम मानै जान परे पनि नाक ठोक्किने उकालो पार गर्नै पर्छ जुनै शासन आए पनि जो सुकैले सत्ता लिए पनि हामीलाई के न के ।”
लामो सुस्केरामा बुबा आफ्नै सुरमा गुनगुनाउनु हुन्छ मेरो ध्यान भने उहाँको गुनगुनाइभन्दा राति आफूले भोगेकै घटनामा केन्द्रित रहन्छ । बडो अजिबको अखण्ड भोगाइ भयो त्यो । अँ साँच्ची उनले गा.वि.स. सचिवकी छोरी छायाँदेवी भनेकी थिइन् । भएन म छायाँलाई भेट्न उनकै घर जान्छु । मनले मनसँग योजना बनाइरहेकै बेला नानीले एक गिलास दूध ल्याएर अगाडि राखिदिन्छे र शरीरको पसिना पनि ओभायो अब त फलैंचाबाट जुरूक्क उठेर तातो तातो दूध घटघट पिउँछु र लाग्छु गाउँकै साथी हेम कहाँ ।
खाल्टोको कम्पोस्ट मल कोदालीले फर्काउँदै छ हेम घर पछाडि । उसलाई त्यहाँ देखेर सिधै घरमा नगई ऊ भएको ठाउँमै जान्छु । मलाई देखेपछि बहुत खुसी हुन्छ हेम ।
“के हो यार सहर पसेपछि गाउँ र गाउँका साथीभाइलाई चटक्कै बिर्सने, आज कताबाट याद आयो नि मेरो तँलाई ?” मलखाल्टोको डिलमा कोदाली ओच्छ्याएर बस्दै बोल्छ ऊ ।
“ल ल तंैले जे भनेपनि तेरो भन्ने पालो आफ्नो सुन्ने पालो, हैन सबैजना मेरो विवशता चाहिँ किन बुझ्दैनन् आउँदा आउँदै पसिना नओभाई आउँछु आफू ऊ त्यसो भन्छ ।”
म पनि मुन्टो बटारेर जवाफ दिन्छु ।
“भैगो भैगो चित्त नदुखा ल भन सहरको हालचाल, तेरो जागिरे जीवन कसरी बित्दैछ ?”
केही बेर हाम्रो यस्तै सवाल जवाफ, घोचपेच चल्छ । त्यहीँ दुईकप चिया लिएर एउटी अपरिचित महिला आउँछिन् ।
“चन्दु ! यही त हो मेरो फटाहा साथी उमङ्ग, साला स्वार्थी मतलबी ।”
यसरी परिचय गराउँछ ती महिलासँग हेमले । मलाई उनी दुईहात जोडेर नमस्कार गर्छिन् ।
“बुझिस् उमङ्ग मैले बिहे गरे नि यी मेरी श्रीमती चन्दू ।”
“ए उहाँ भाउजू पो ल बधाइ छ तँलाई ।”
उनी लाजले रातो बन्दै धोतीको सप्को स्याहार्दै भित्र पस्छिन् । फेरि हाम्रो वार्तालाप सुरू हुन्छ ।
“साँच्ची हेम म तँलाई एउटा कुरा सोध्छु ।”
यसरी विषय प्रवेशतिर लाग्छु म, “गा.वि.स. सचिव अमरनाथकी छोरी छायाँ कता छिन् अचेल ?”
मेरो कुरा सुनेर ट्वाल्ल पर्छ हेम । “हैन तैले थाहा पाएको छैनस् र ?”
“के कुरा ?” उत्तेजित बन्दै सोध्छु म ।
“ऊ क्या त छायाँको सहरकै केटासँग माया बसेको रैछ । अमरनाथ बूढाले पल्लो गाउँको श्रीनाथ काकाको छोरासँग विवाहको कुरा छिने त्यसपछि बिचरी खहरेको भीरबाट खसेर मरी ।”
“के रे छायाँदेवी मरि सकी रे ?”
“अनि के त एकवर्ष भैसक्यो ऊ मरेको बूढा अहिले पश्चातापले गलेका छन् । जवान छोरीको डोली सजाउने बेला लास उठाउनुपर्दा ।”
म हेमको कुराले छटपटिन्छु । बसेकै ठाउँमा लगलग काम्छ शरीर । डरलाग्छ भित्रभित्रै त्यही खहरेको भीरको फेदी, तमोर नदीको किनारमा त हो नि उसले मलाई लगेकी । के यस्तो पनि हुन्छ मरेको मान्छे कसरी जीवित भएर खोलादेखि मसँगै सवाल गर्दै आई, नाइ यो हुन सक्दैन, फेरि त्यो महल, उसँग बिताएको रात, खलखल पसिना छुट्छ । चारैतिर अँध्यारो देख्छु, मेरो वाक्य बसेर किलकिली झंै अन्तर कुन्तर घुम्छ फुइफुइ । हेम उठेर मलको चपरी फ्याक्न थाल्छ धमाधम, म भने चारैतिर अँध्यारो छ ।