शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये एक पहाडी जिल्ला गुल्मी हो । यस जिल्लाको पूर्व पश्चिम सरदर लम्वाई ४० कि.मि. र उत्तर दक्षिण सरदर लम्बाई ३० कि.मि. रहेको छ । राजनैतिक रुपमा ३ निर्वाचन क्षेत्र, १३ इलाका र ७९ गा.वि.स. मा विभाजन भएको यस जिल्लाको २०५८ सालको जनगणना अनुसार जनसंख्या २९६६५४ रहेको छ । छिमेकी मुलुक भारतबाट करिब १४० कि.मि.,बुटवलबाट ११५ किमी मात्रको दुरीमा गुल्मी जिल्ला रहेको छ । विकासका पूर्वाधार यातायात, विजुली, सञ्चार सेवा उपलव्ध यस जिल्लाको ७९ गाबिसहरुमा कच्ची मोटरबाटोबाट यातायात संचालन भै रहेको छ । यस जिल्लाको सदरमुकाम तमघासबाट करिव ६ कि.मि. नजिक रहेको सिमिचौर गा.वि.स.मा हवाई मैदान निर्माण कार्य क्रमागत योजनाको रुपमा अगाडी बढीरहेको छ ।
प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका,श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरु गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह,थाप्ले,कङ्के देउराली,सत्यवती,शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा आदि यसै जिल्लामा रहेका छन।
यि स्थानहरु धार्मिक महत्वले मात्र नभै जैविक विविधता, पर्यटकिय स्थल, जलश्रोतको मुहान, तिर्थस्थलको रुपमा परिचित छन् भने सदरमुकामको शिरमा रहेको रेसुङ्गा क्षेत्र पौराणिक कालका ऋषि ऋष्य श्रिङ्गा तपोभूमि हो । यस क्षेत्रमा हालैको एक संस्थाको अध्ययनबाट लोपोन्मुख २ जातीको गिद्ध पाइएको छ । यस जैविक विविधताले सम्पन्न रेसुङ्गा पहाडमा प्रकृतिमा आधारित पर्यटन अन्तरगत साहसिक पर्यटनको विकास गर्न सकिन्छ । बिभिन्न जात जातिहरुको समिश्रण रहेको यस जिल्लामा जनजातिहरुको आफ्नै कला, संस्कृति, भेष भुषा रहेका छन । लोपोन्मुख अवस्थामा रहेका यी सांस्कृतिक धरोहरहरुलाई आगामी पुस्ताका लागि जोगाई राख्न हामी सबैको कर्तव्य बनिसकेको छ ।
यसै गरि ग्रामिण पर्यटनको अवधारणालाई लागू गरि यस क्षेत्रमा रहेको गरिबि न्यूनिकरण गर्न यो जिल्लाले आफ्ना प्रयासहरु अगाडि बढाउन लागिरहेको छ । गुल्मी जिल्ला पहाडी जिल्ला भएकाले यहाँ व्यवसायिक रुपमा व्यवसायिक खेतीको सम्भावना रहेको छ । नेपालमा पहिलो पटक कफि खेतिको शुरुवात गर्ने गौरवमय ईतिहास बोकेको गुल्मी जिल्ला विेदेशमा सबैभन्दा बढी अर्गानिक कफि निर्यात गर्ने जिल्ला पनि हो र जापान तथा कोरियामा हालसम्म पनि निर्यात हुदै आईरहेको छ । जिल्लाका विभिन्न भागमा तरकारी खेती, अदुवा खेती, सुन्तला खेती, उखु खेती, च्याउ खेतीको लागि उपयुक्त जलवायु र स्थानहरु रहेका छन् ।
साथै जैविक विविधताले भरिपूर्ण पहाडी क्षेत्र भएकाले मौरी पालन व्यवसायको विस्तार गर्न सम्भव रहेको छ । नेपालको दोश्रो ठूलो व्यापारिक केन्द्र वुटवलबाट ११५ कि.मि. मात्र टाढा रहेको गुल्मी जिल्लामा उत्पादित वस्तुहरु निर्यात गर्न कुनै समस्या छैन । हाल यस जिल्लाबाट बाहिर विक्री वितरण भएका प्रमुख कृषि उत्पादनमा कफि, टमाटर, खुर्सानी, अदुवा, उखु खुदो, मकै विउ आदि छन र पशुपालन अन्तर्गत उत्पादीत दुध पोखरा निकासी हुदै आईरहेको छ ।

