ढाडमा झोला बोकेका माल्दाइ 'ल है मनोज, पुगेर फोन गरौंला' भन्दै बस उक्लँदा एकछिन त मलाई पनि नरमाइलो लाग्यो। मकालुको झापा जाने नयाँ बस कलंकीबाट छुट्नै लागेको थियो। खलासी 'ल पूर्व है पूर्व... झापा... झापा...' भन्दै थियो। सबै सिट भरिइसकेका थिए। भर्खरै ग्यारेजबाट निकालेको हो कि जस्तो नयाँ बस देख्दा मलाई पनि झापा जाउँजाउँ लाग्यो। दिमागमा अनायासै गाउँको प्यारो माईखोला, दोमुखाको हरियाली, चुलाचुली डाँडा आइहाले।
तुरुन्तै सम्हालिएँ- कहाँ झापा जानु, एकैछिनमा अफिस पुग्नु छ!
माल्दाइ झ्यालपट्टिको सिटमा गएर बसे र हात हल्लाउन थाले। उनका रसिला आँखा म प्रस्ट देख्दै थिएँ। मेरा आँखा पनि भरिए।
हेर्दाहेर्दै खलासीले गाडीको ढोकाछेवैमा ढ्यापढ्याप पार्यो। बस बिस्तारै गुड्न थाल्यो।
म के गरुँ - के गरुँ भएर यसै उभिरहेको थिएँ। माल्दाइ हात हल्लाउँदै नै थिए। कलंकीचोकबाट बस थानकोटतिर मोडियो र सडकमै हरायो।
काठमान्डुमा बीस वर्ष बिताएर माल्दाइ सधैंका लागि गाउँ हिँडेका थिए। मेरो पनि सपना त यही हो! सहरका सारा काम निप्ट्याएर एक दिन गाउँ फिर्नु। सायद गाउँबाट सहर पसेका थुप्रै मानिसको सपना! तर, काठमान्डु कहिल्यै तर्न नसकिने भवसागरजस्तो बनिरहेको छ। यसलाई तरेर गाउँ जाने पुल माल्दाइजस्ता फकिर र साहसीले नै बनाउन सक्छन् सायद, हाम्रो हुतिको कुरा होइन!
...
माल्दाइ त सधैं भनिरहन्थे, काठमान्डु मेरा लागि परदेश हो। जहिल्यै परदेश नै रहिरहनेछ। म एउटा मिसनमा यहाँ आएको हुँ। त्यो पुरा भएपछि एक मिनेट पनि बढी बस्दिनँ। मेरै प्यारो गाउँ फर्कन्छु।
कहिलेकाहीँ हामी दुईजनाको जमघटमा रक्सी लागेका बेला उनी गाउँ सम्झेर झनै भावुक हुन्थे। बिस्तारै रक्सीको सिप लाउँथे र हामी प्रायः बस्ने रेस्टुरेन्टको सिलिङमा चुरोटको धुवाँ फुरर्र पार्थे। मोबाइल फोनबाट गाउँकै छिमेकी साथीलाई फोन गर्थे जो साउदीबाट फर्केपछि पाँच वर्षयता घरमै पाँचछ वटा गाई पालेर बसेको थियो। बजारमा दुध बेचेर महिनाको दसबीस हजार कमाउँथ्यो। अहिले आनन्दले गुजारा चलेको छ, साउदी जानुअघि नै किन मेरो बुद्धि आएन भनिरहन्थ्यो। गाईको हेरचाह गर्न एउटा मान्छे राखेकोे थियो। ऊ आफैं पनि खट्थ्यो।
माल्दाइ साथीसँग फोनमा गाउँघरको खबर सोध्थे। भन्थे, 'बुझिस्? अब म पनि गाउँ आउँछु। मलाई वाक्क लागिसक्यो, यो सहर अचेल! बानेश्वरको यो दुइटा कोठाबाट मुक्त हुन चाहन्छु म। गाउँमै दाजुभाइ मिलेर गाई पालौंला वा तँ गाई पाल्लास्, म अर्थोकै केही गरौंला।'
साथी के भन्थ्यो कुन्नि, उनी थप्थे, 'हेरिराख, अब एकदुई वर्ष हो मेरो काठमान्डु बसाइ। त्यसपछि यत्रा पनि बस्दिनँ यहाँ।'
उनी जोस्सिन्थे। साथी पनि जिस्क्याउँथ्यो सायद, रक्सीको सुरमा माल्दाइ उसलाई गाली गर्थे र फोन राखेर स्वाट्ट ठूलो सिप चिरिप्प पार्थे। फेरि चुरोटको लामो सर्को तानेर रेस्टुरेन्टको सिलिङतिर फुरर्र धुवाँ फ्याँक्थे।
दुई वर्षअघि कान्छो छोराको पनि भिसा लागेपछि माल्दाइ गाउँ फर्कन झनै हतारिएका थिए। मलाई भन्थे, 'अब दुई वर्ष हो, बुझ्यौ? गाउँमा एउटा घर बनाएर ऋण तिरतार गरेपछि एक मिनेट पनि यहाँ बस्दिनँ। त्यही दिनकै नाइट बस समात्छु गाउँ जान।'
म जिस्क्याउँथे, 'काठमान्डुमा यत्रो कमाउनुहुन्छ दाइ, के जानुहोला गाउँ!'
उनी भन्थे, 'हेरिराख न। म जान्छु जान्छु। काठमान्डुको यो सानोतिनो कमाइभन्दा गाउँकै रुखोसुखो मलाई मन्जुर छ।'
उनी रक्सीको सुरमा कहिलेकाहीँ काठमान्डु र यहाँका मान्छेलाई बेस्मारी गाली गर्थे। काठमान्डु त बस्न हुने सहर नै होइन भनेर भुतभुताउँथे। भन्थे, 'यो असभ्यहरूको सहर हो, बुझ्यौ? जंगली मान्छेहरूको बस्ती हो यो! म त यहाँ एक बस्दिनँ, दुई बस्दिनँ, तीन बस्दिनँ।'
रक्सीको सुरमा बढी भावुक भए पनि उनले गफै दिएकाचाहिँ होइन रहेछन्। काठमान्डुको सबै बेचबाच गरेर यहाँका सारा लगावबाट मुक्त हुँदै बीस वर्षअघि एउटा झोला बोकेर सहर पसेजसरी त्यस्तै एउटै झोलामात्र भिरेर गाउँ फर्कनु सबैले गर्नसक्ने काम हो?
...
बीस वर्षअघि माल्दाइ यसैगरी नाइट बस चढेर काठमान्डु पसेका थिए।
गाउँमा साह्रै राम्रो मेलो थिएन। धेरै दाजुभाइ। सुकेडाँगीमा एउटा फुसको घरमा दुखजिलोसँग गुजारा चल्दै थियो। उनले खासै पढ्न सकेनन्। एसएलसीपछि घरव्यवहारले थिच्यो। पढ्न असाध्यै मन गर्ने माल्दाइको पढाइ यसै ढुसियो।
अढाइ दसकअघि सुकेडाँगीबाट आइए पढ्न कि भद्रपुर जानुपर्थ्यो, कि दमक! घरबाट धाउन गाह्रै हुन्थ्यो। जाँदाआउँदै तीनचार घन्टा लाग्ने। कलेज भएकै ठाउँमा डेरा गरेर पढ्ने हैसियत थिएन।
माल्दाइको दिन खेतीपातीमै बित्न थाल्यो। गाउँमै बिहे गरेर एउटा छोरा जन्मेपछि भने उनी अलि भरंगिन थाले। जिन्दगी यस्तै सुस्त गतिमा चल्न सक्दैनझैं लाग्न थाल्यो।
श्रीमतीले पनि कचकच गर्न थालिन्, 'हेर बुढा, जिन्दगी यसरी चल्दैन। केही उपाय त गर्नैपर्यो! तिमीले पनि पढेनौ, मैले पनि पढ्न सकिनँ। कमसेकम यो छोरालाई त राम्ररी पढाउनैपर्छ। गाउँमै बसियो भने त छोरा पनि तिमीजस्तै भुक्कड हुन्छ।' कान्छो जन्मिसकेको थिएन।
माल्दाइले केही दिन गमेरै बिताए। अरूभन्दा पनि छोरालाई राम्ररी पढाउनुपर्छ भन्ने उनको दिमागमा गहिरोसँग गढेको थियो। सुकेडाँगीकै स्कुलमा पढाए त छोरा पनि आफूजस्तै भुक्कड हुन्छ भन्ने श्रीमतीजस्तै माल्दाइलाई पनि लागेकै थियो।
एक दिन घरको थोत्रो साइकल खियाउँदै सुरुंगा बजार गए र काठमान्डुमै सानोतिनो व्यापार थालेको सँगै पढेको साथीलाई फोन मिलाए। त्यत्तिखेर सुरुंगामा भर्खरभर्खर फोन जोडिएको थियो। दुईचार लाइन सार्वजनिक फोनमात्र थिए। सुकेडाँगीमा त कहाँ पाएर हुनु!
साथीले ढाडस दियो, '२० हजारजति रुपैयाँ लिएर आइस् भनेर मेरै व्यापारमा मिसिएलास् माइला!'
साथीको ढाडसकै भरमा माल्दाइ रिनपान गरेर जम्मा गरेको २० हजार रुपैयाँ खल्तीमा हालेर एक दिन काठमान्डु हानिए, सुरुंगाबाट नाइटबस चढेर।
भोलिपल्ट दस बजे काठमान्डु उत्रिएर साथीलाई फोन गरे र उसैले भनेअनुसार टेम्पो समातेर घट्टेकुलो पुगे।
अर्को दिन नै साथीले उनलाई व्यापारमा मिसायो। माल्दाइ बिस्तारै काठमान्डुका साहुजी भए। व्यापार चम्कँदै गयो। उनी टाठै थिए, साथी पनि टाठै, पसलमा मालताल थप्दै गए दुई भाइ मिलेर।
वर्षदिन बितेपछि माल्दाइले सोचे, साथीसँग मिसिरहनुभन्दा एक्लै व्यापार गरे बढी कमाइ होला। एक्लै व्यापार धान्ने आँट पलाइसकेको थियो। कान्छो छोरा पनि जन्मिसकेको थियो। उसको पढाइको चिन्ता पनि थपिएको थियो।
काठमान्डु छिरेको अर्को वर्ष सरस्वतीपुजाको दिन उनले आफ्नै व्यापार थाले। पुतलीसडकमा खुल्यो माल्दाइको स्टेसनरी पसल।
अर्को वर्ष त उनले श्रीमती र छोराहरूलाई झिकाइहाले। पसल अचम्मैसँग चम्कियो। माल्दाइ ग्राहकसँग राम्रो व्यवहार गर्थे, सामानमा धेरै नाफा राख्दैन थिए। थोरै नाफा खाने, धेरै सामान बेच्ने सिद्धान्त थियो। एकचोटि सामान किनेका मान्छे उनको पसलका नियमित ग्राहक बन्थे।
दुवै छोरा काठमान्डुकै बोर्डिङ स्कुलमा पढ्न थाले।
बाह्र वर्षअघि म काठमान्डु आउँदा माल्दाइ स्टेसनरीकै थोक व्यापार गर्न थालिसकेका थिए। श्रीमती र छोराहरू आएपछि नै लिएको बानेश्वरका दुइटा साँघुरा कोठा भने माल्दाइले घर फर्कन्जेलसम्मै छाडेनन्।
कहिलेकाहीँ भाउजु र म भन्थ्यौं, 'अब त पैसा पनि कमाउन थाल्नुभयो, अलि फराकिलो डेरा खोज्नुपर्यो।'
माल्दाइ जवाफ दिन्थे, 'म एउटा मिसनमा सहर पसेको हो, रइस गर्न होइन।'
...
म काठमान्डु आएदेखि नै माल्दाइसँग नियमित भेट हुन थाल्यो। हामी कहिलेकाहीँ साँझतिर पुतलीसडककै रेस्टुरेन्टमा भेट्थ्यौं र रमाइलो गर्थ्यौं। राम्रो पैसा कमाइरहेका थिए तर उनमा यसको कुनै मात थिएन। सधैं भनिरहन्थे, 'म काठमान्डु एउटै मिसनमा आएको हुँ, छोराहरू पढाउने। धेरै पैसा कमाउँला र सहरमा बिल्डिङ ठड्याउँला भन्ने कुनै चाह छैन मलाई।'
सुकेडाँगी घरमा पनि महिनैपिच्छेजस्तो पैसा पठाइरहन्थे। अरूले जस्तो काठमान्डुमा तीनचार आना जग्गा किन्ने र बट्टाजस्तो सानो घर बनाउने उनको कुनै मन थिएन। पछि गाउँकै जग्गामा फराकिलो घर बनाउँछु भनिरहन्थे। छोराहरू राम्रोसँग पढ्दै थिए, त्यसमै सन्तुष्ट थिए। छोराको रिजल्ट राम्रो भएको दिन उनी प्रायः मलाई पुतलीसडकको हामी सधैं भेट्ने रेस्टुरेन्टमा बोलाउँथे र टि्रट दिन्थे।
मलाई माल्दाइ अनौठा लाग्थे। रमाइला लाग्थे। प्यारा लाग्थे। जीवनमा कुनै ठूलो महŒवाकांक्षा नभएका साधु स्वभावका मानव थिए। एउटै उद्देश्य थियो, छोराहरू राम्ररी पढून्- बस्! फकिरजस्ता थिए, गाउँठाउँका मान्छेलाई सहयोग गरिरहन्थे। कमाइको निश्चित अंश चन्दा वा दान दिन्थे।
गाउँको प्राथमिक विद्यालयलाई माध्यमिक बनाउनुपर्छ भनेर लागेका थिए। महिनाको पाँच हजार रुपैयाँजति स्कुललाई चन्दा पठाउँथे। भन्थे, 'सुकेडाँगीको त्यो स्कुल मावि भयो भने कमसेकम गाउँका भुराले डेढ घन्टा हिँडेर पढ्न सुरुंगा जानुपर्दैन।'
पाँच वर्षअघि प्लस टु सकेर जेठो अस्टे्रलिया गयो। त्यो दिन माल्दाइले मलाई पुतलीसडकको त्यही रेस्टुरेन्टमा बोलाए र दिल खोलेर टि्रट दिए। हुन त उनको दिल कहिले पो नखुलेको हुन्थ्यो र!
जेठो अस्ट्रेलिया गएको दिन माल्दाइ अलि भावुक पनि भएका थिए। भनेका थिए, 'बु‰यौ, काठमान्डु आएको मेरो एउटा मिसन पुरा भयो आज। अब आफ्ना लागि उसैले कमाउँछ। मैले चिन्ता गर्नुपर्दैन।'
त्यो दिन मैले खान्नँ भन्दाभन्दै उनले मेरो ग्लासमा दुई पेग बढी हाल्देका थिए। त्यो दिन हामी रेस्टुरेन्टमा निकै बेरसम्म बसेका थियौं। झन्डै बाह्र बजेतिर पछाडिको ढोकाबाट निस्केका थियौं।
...
प्रायः महिनामा एकदुई दिन हाम्रो भेट हुन्थ्यो।
उनी काठमान्डुलाई एकरति मन पराउँदैन थिए। एउटै वाक्य बोलिरहन्थे प्रायः, 'बु‰यौ, काठमान्डुका मान्छेको सोमतै छैन। आफू बसेको ठाउँलाई प्रेम गर्नै जान्दैनन् उनीहरू।'
गाउँसँग उनको बिछट्ट प्रेम थियो। भन्थे, मिसन पुरा भएपछि गाउँबाट आएका मानिस गाउँ नै फर्कनुपर्छ। सहरमा भीड गर्नु हुँदैन। सहरको हावामा बिगार छ भन्थे।
कहिले दार्शनिकजस्ता लाग्थे, कहिले योगीजस्ता, कहिले अभिभावकजस्ता। माईखोला, दोमुखा, सुकेडाँगी, चुलाचुली जंगलको कुरा गरिरहन्थे। जीवन गाउँमै रमाउँछ, काठमान्डुसँग त जहिल्यै प्रतिरोधमात्र गरेर बाँच्नुपर्छ भन्थे। क्या गजब मान्छे!
...
दुई वर्षअघि कान्छो पनि अमेरिका उड्यो। उसले एरिजोनाको एउटा युनिभर्सिटीमा स्कलरसिप नै पाएछ। माल्दाइलाई धेरै खर्च गरिरहनु परेन।
माल्दाइले मलाई फेरि ट्रिटमा निम्त्याए, पुतलीसडकको त्यही रेस्टुरेन्टमा। त्यो दिन पनि हामी बाहिर निस्कँदा बाह्र कटिसकेको थियो। रेस्टुरेन्टका अन्तिम ग्राहक हामी नै थियौं।
भनेका थिए, 'अब सहरमा बस्ने मेरो मिसन लगभग सकियो। छोराहरूप्रति गर्नुपर्ने कर्तव्य एकप्रकारले पुरा भयो। उनीहरू अब आफ्नो खुट्टामा उभिन सक्छन्।'
उनी ढुक्क देखिएका थिए। थपेका थिए, 'अब गाउँमा एउटा सानो घर बनाउँछु, यहाँको रिनपान तिर्छु र गाउँ फर्कन्छु।'
भन्थे, 'अब धेरै सहर बसेँ भने सहरिया रोगले मलाई पनि समात्छ, डायबेटिज, कोलेस्टोरेल, ब्लडप्रेसर, केके!'
गाउँलेहरूले माईखोला किनारमै स्थापना गरेको धनुषकोटी धाममा तीनचार वर्षयता सुरुंगाबाहिरका भक्तजन पनि आउन थालेका थिए। अघिल्लो वर्ष दसैंमा घर गएका बेला माल्दाइले धनुषकोटी धाम विकासका लागि पनि केही रकम दिएछन्।
भन्थे, माईखोला र दोमुखा त सहरिया रोगको औषधी नै हो! माईखोलाको चिसो पानीमा नुहाउँदा बेग्लै आनन्द आउँछ, शरीरका विकार नै बाहिर निस्केजस्तो हुन्छ।
रक्सी लागेका बेला गीत गाउँथे, 'दोमुखाको चिसो पानी... क्या रमाइलो जिन्दगानी।' कुनै लोकगीतलाई आफैं स्थानीयकरण गरेका थिए।
अब गाउँको स्कुललाई मावि बनाउने मिसनमा उनको ध्यान केन्द्रित थियो। सुकेडाँगीमै चिटिक्कको घर बनाउने, बारीमा तरकारी र फलफूल रोप्ने, घरमै एउटा पसल खोल्ने र गाउँमा सरसहयोग गरेर जीवन बिताउने- उनको जम्माजम्मी लक्ष्य यत्ति थियो।
...
अघिल्लो हिउँदमा माल्दाइले भाउजुलाई गाउँ पठाए, घर बनाउन। अस्ति दसैंमा गाउँ गएका बेला उनले मलाई घर हेर्न बोलाएका थिए। चिटिक्कको एकतले घर बनाएछन्, फराकिलो आँगन राखेर। काठमान्डुमा कहाँ पाएर बनाउन सक्नु यति खुला ठाउँ भएको घर। माईखोलाको चिसो पानीमा नुहाएर बिहान माल्दाइकै घरमा खाना खाएर दिउँसोतिर सुरुंगा फर्केको थिएँ म।
माघतिर एक साँझ हामी पुतलीसडकमै रेस्टुरेन्टमा बसेका थियौं। भनेका थिए, 'अब नयाँ वर्ष नलाग्दै म गाउँ फर्कन्छु। पसल किन्ने मान्छे पाइसकेँ। सबै ऋण तिरेर पाँच लाखजति रुपैयाँ बच्लाजस्तो छ, त्यही पैसाले घरमै पसल खोल्छु। महिनाको दसपन्ध्र हजार कसो नकमाइएला?'
मलाई अचम्म लागेको थियो, सबै खर्च कटाएर महिनाको ५० हजार रुपैयाँ कमाइ हुने पसल बेचेर माल्दाइ गाउँ फर्कने घोषणा गर्दै थिए।
मान्छे गाउँबाट काठमान्डु पस्छन्, काठमान्डुबाट न्युयोर्क जाने सपना बुन्छन्, मिले त्यहाँबाट चन्द्रमा उड्ने महŒवाकांक्षा राख्छन्। यी फकिर गाउँ फर्केर स्कुललाई मावि बनाउने मिसनमा लाग्छु भन्छन्। धनुषकोटी धामलाई जिल्लाबाहिरका भक्तजन पनि आउने धार्मिक पर्यटकस्थल बनाउँछु भन्छन्।
घर जाने अघिल्लो दिन पनि हामी पुतलीसडकमै भेटेका थियौं। सायद यो काठमान्डुमा हाम्रो अन्तिम जमघट थियो।
...
नयाँ वर्षको पहिलो साँझ म अफिसमै थिएँ। काठमान्डुमा नयाँ वर्ष भन्नु के- उही नियमित दैनिकी! साँघुरो कोठा, भीड सडक र बेस्वाद अफिस। २०६८ सालको पहिलो दिन भएर पनि मनमा कुनै उल्लास थिएन। काठमान्डुको निरस जिन्दगीमा कुनै नयाँ रंग थिएन।
सात बजेतिर सुकेडाँगीबाट माल्दाइको फोन आयो, 'ओ, के छ? नयाँ वर्षको शुभकामना, यार।'
मैले भनेँ, 'धन्यवाद माल्दाइ। तपाईंलाई पनि ह्यापी न्यु इयर।'
उताबाट माल्दाइको एकदमै प्रफुल्ल स्वर सुनियो, 'ओहो मनोज, तिमीलाई भन्न पनि सक्दिनँ, आज म कति खुसी छु। बीस वर्षपछि माईखोला किनारमा मैले नयाँ वर्ष सुरु गरेँ। बिहानै नदीमा नुहाएँ, एकछिन दोमुखाबाट मास्तिर डाँडा उक्लिएँ। धनुषकोटी धाममा आएर एकछिन पुजाआजा गरेँ। आजैदेखि घरकै सटरमा मेरो पसल पनि सुरु भयो।'
'ओहो... गज्जब दाइ, ल बधाई छ,' माल्दाइको खुसीले मेरो नयाँ वर्ष पनि रमाइलो भएजस्तो लाग्यो। माल्दाइले मेरो नयाँ वर्षमा खुसी ल्याइदिए भनेझैं लाग्यो।
माल्दाइले थपे, 'गाउँमा बेग्लै मजा छ, तिमी पनि काठमान्डुको मिसन सकेर चाँडै घर फर्क यार! ल त, एकपटक फेरि तिमीलाई नयाँ वर्ष २०६८ को धेरैधेरै शुभकामना।'
म केही बोल्न खोजेँ तर मुखबाट आवाज निस्केन।