शनिवार, 7 मई 2011

दिउँसो यता, राति उता

काठमाडौ, वैशाख २४ - व्यापारमात्रै होइन सीमा क्षेत्रका बासिन्दको रोजगारी र सामान्य बजार पनि जिल्ला सदरमुकामभन्दा राजधानी नै सहज हुन्छ ।

मानाले भूगोल छुट्याउँछ सिमन छुट्याउन सक्दैन । मन छुट्याउने भए मकवानपुरको फाखेल गाविस हुमानेका चन्द्रबहादुर तामाङको दैनिकी काठमाडौं आउजाउ गरेर कसरी बित्थ्यो ? तामाङ पछिल्लो १५ वर्षदेखि व्यापारका लागि काठमाडौं आउँछन्, साँझ मकवानपुर र्फकन्छन् ।
'सामान ल्याउने र बेच्न लाने काठमाडौं नै हो', ५९ वर्षे तामाङले सुनाए, 'सिमानामा घर छ, बसाइ मकवानपुर, व्यापार काठमाडौं ।'  दुई जिल्लाको सीमा क्षेत्रमा उत्पादन हुने घिउ, खसी, सागसब्जीको बजार काठमाडौं हो । 'दिनभर काठमाडौंवासी, साँझ-बिहान मकवानपुरे,' उनले भने ।
राजधानीको सीमा जोडिएका जिल्लामा बस्नेहरूको दैनिकी झन्डै समान छ । उनीहरूको हिमचिम काठमाडांैसित बढ्छ । बासमात्रै आफ्नो जिल्लामा हुन्छ । जन्म दर्ता, जग्गा, नागरिकताजस्ता सरकारी कामले मात्रै उनीहरूलाई मकवानपुरसित गाँसिरहेको छ । तामाङ भन्छन्, 'लाजपुर्जा र नागरिकता बनाउन हेटांैडा जानुपर्छ, त्यतिबेलामात्रै आफू मकवानपुरे भएको सम्झना हुन्छ ।'
२०३१ सालअघि फाखेल काठमाडौं  थियो ।  त्यसपछि मकवानपुरका नेताले त्यसलाई आफ्नो जिल्लातिर गाभे । अहिले पनि कति नाप नक्सामा फाखेल काठमाडौंतिरै देखिन्छ । 'हामीले डेढ वर्षपछि फाखेल मकवानपुर भएको थाहा पायांै,' तामाङ भन्छन्, 'पछि कति गर्दा पनि काठमाडांैमा गाभ्न सकिएन । हामी दिनभर काठमाडौंको रातभर मकवानपुरको ।'
तामाङमात्रै होइन धादिङ खानीखोलाका प्रेम रूपाखेती पनि सरकारी कामको सिलसिलामा मात्र जिल्ला सदरमुकाम धादिङबंेसी पुग्छन् । काठमाडौंको वाणभन्ज्याङ गाविससँग जोडिएको खानीखोलाका प्रेमजस्ता धेरैको दैनिकी जिल्लामा भन्दा राजधानीसित बढी जोडिएको छ । व्यापार मात्रै होइन उनीहरूलाई रोजगारी र सामान्य बजार पनि जिल्ला सदरमुकामभन्दा राजधानी नै सहज हुन्छ । 'जिल्ला सदरमुकामसित हाम्रो सम्पर्क हुँदैन भने पनि हुन्छ, सबै काम काठमाडौं गएर गर्छौं । प्रशासनिक काम परेमात्र सदरमुकाम जाने हो', उनले सिमानामा बस्दाको अनुभव सुनाए । काठमाडौंसित सबै साइनो गाँसिएकाले गाविसलाई त्यतै गाभ्नुपर्ने उनको सल्लाह छ । उनको गाविसबाट धादिङबंेसी जान  गाडीमा एक दिन लाग्छ भने काठमाडांै दुई घन्टामै पुगिन्छ ।
काठमाडौं जिल्ला नाङ्लेभारे गाविस पटापका सुकु तामाङको सिमानामा बस्दाको अनुभव अरूको भन्दा भिन्न छ । नाममात्रले केही नहुने भन्दै विकासका पूर्वाधार नहुँदा आफूलाई काठमाडौं जिल्ला नै भन्न गाह्रो लाग्ने गरेको उनी बताउँछन् । 'शिक्षा, स्वास्थ्य अहिलेसम्म कुनै विकास भएको छैन भन्दा पनि हुन्छ,' उनले भने । काठमाडौं जिल्ला भनेर छात्रवृत्ति र अन्य सरकारी सुविधाबाट वञ्चित हुनुपरेकोमा उनको दुखेसो छ । विकासका पूर्वाधारले यहाँ अझै छुन सकेको छैन ।
करिब २०३१ सालतिर नाङ्लेभारे लगायतका केही गाविस सिन्धुपाल्चोकबाट काठमाडौं जिल्लामा गाभिएका थिए । काठमाडौंभन्दा न्युरोड र नाङ्लेभारेलाई हेर्ने दृष्टिकोण एउटै भएको भन्दै त्यसरी दाँज्न नमिल्ने उनको तर्क थियो । 'कहाँको न्युरोड र कहाँको लप्सेफेदी, नाङ्लेभारे ?, यो त अमेरिका र नेपालको विकाससँग तुलना गरे जस्तो भइहाल्यो नि,' उनले भने ।
काभ्रे साँगा गाविसका वीरमान श्रेष्ठको दैनिकी पनि काठमाडांैमै बित्छ, दिनभर व्यापार व्यवसाय गरेर बेलुकी उनी साँगा नै र्फकन्छन् । सरकारी काम वा इस्टमित्र भेट्न कहिलेकाहीं उनी सदुरमुकाम बनेपा पुग्छन् । भक्तपुरको चित्तपोल गाविससँग जोडिएको साँगाका स्थानीय बासिन्दा रोजगारी, अन्य व्यवसाय अथवा शिक्षा, स्वास्थ्यको सुविधा लिन दैनिक काठमाडौं धाउँछन् ।
'हाम्रो घरमात्र काभ्रे जिल्ला हो, सबै व्यापार व्यवसाय काठमाडौं वा भक्तपुरमा हुन्छ,' उनले भने । आफ्नो गाविस सुगममै भएकाले काभ्रे जिल्ला सिमानाले कुनै असर नपारेको उनको भनाइ छ । 'हामी काभ्रे, भक्तपुर वा काठमाडौंमै हुँदा कुनै फरक छैन, आखिर चाहिएको विकास हो, भएकै छ,' उनले भने ।




प्रकाशित मिति: २०६८ वैशाख २४ ०९:३५

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ