सोमवार, 16 मई 2011

कति प्यारो कति प्यारो


कति प्यारो,   कति प्यारो,  मुटु भन्दा माटो प्यारो 
घर-देशको   दुःख भन्दा   पर-देशको  सुख गाह्रो ।।

कोही  छैन, केही छैन  मनले आफ्नु  भन्ने हाम्रो
नाता छैन  मान्छेबीच  कोही आफ्नो  ठान्ने हाम्रो
चुहिएको   छानो  राम्रो,  भत्किएको  गारो  राम्रो
पराईको   महल  भन्दा  आफ्नै घर  कति राम्रो  ।।

न त गुराँस  फुलेको छ,  न त हिमाल हाँसेको छ 
आफ्नै देशको माटो सम्झी  जिन्दगानी  बाँचेको छ 
गुन्द्रुक, ढिडो, सिन्की खाई हाँसेको त्यो मुहार राम्रो
हिमाल, पहाड ,तराई हाम्रो  कति राम्रो कति राम्रॊ 

माटोको सिन्दुर र कुशको औठी


आज बिहानै देखी इन्द्रा को घरमा चाहलपहल छ । हिजो अस्तिको भन्दा आज बेग्लै किसिमको रौनक छाएको छ । इन्द्रालाई बर पक्षकाहरु हेर्न आउदै छन् । दिनको १२:३० तोकिएको छ भेटघाट कार्यक्रम । १२ बजिसक्यो ! अब आधा घण्टा मात्रै बाकि छ । घरका सदस्यहरु पाहुना पक्ष लाइ स्वागत गर्न तम्तयार छन् । सबैको आखामा खुशीका साथ् एक किसिमको त्रास पनि छाएको छ । निर्मलाको निरस बर्तमान झैँ इन्द्राको जिबन पनि त्यस्तै भैदियो भने ?--- बर पक्षले हेरेर न स्विकारी दिदा इन्द्राकी फुपू निर्मला बुढी कन्या भएर बस्नुपर्यो माइतीमा । २-३ ठाउ बाट हेर्न आउनेहरुले देखाउने गरेको खोट निर्मलाको 'उचाई' थियो । बर भन्दा अग्ली भएकीले नसुहाउने भन्दै अस्विकार गरेका थिए । आफ्नो जिबन भन्दा बढी परिवारको इज्जतलाई मूल्यवान सम्झने आदर्श स्बभाबकि निर्मला त्यसपछि माइतीमा नै जिबन बिताउदै बसिन् । 
छोरीको जन्म हारेको कर्म सोच्ने पुरुष प्रधान समाजका पात्रहरु मध्यका थिए इन्द्राको परिबार पनि । निर्मलाको जिबनलाइ हारेको
  कर्म सम्झी चित्त बुझाइ बसेका इन्द्राको परिवारलाई कतै इन्द्राको जिबन निर्मलाको झैँ अपूर्ण निराश हुने त होइन भन्ने एक किसिमको त्रास हुनु स्बभाबिकै थियो । 'यहि पहिलो भेटमा नै बर पक्षकाले स्विकार गरिदिउन् इन्द्रालाई !' , इन्द्राकी आमाले भगवानलाई भाकल गरिरहेकी थिइन् मनमनै । 

~~~~
न होची न अग्ली बर्ण श्यामल २३-२४ बर्षकी इन्द्राको रुपको बखान गर्ने हो भने यत्ति चै सजिलै भन्न सकिन्छ उस्मा पर्ने हर सौन्दर्य पारखी नजर एकैछिन उसैमा बिश्राम लिन्थ्यियो । लाम्चो अनुहार , चिटिक्क मिलेको नाक , हास्दा अर्ध चन्द्र मा झैँ देखिने हिस्सी परेको ओठ , थोरै घुम्रिएको लामो केश । 
अनी आँखा ? 
बस ! , थोरै खोट लगाउने ठाउँ थियो भने त्यै आँखा मै थियो त्यो पनि खोट लगाउन कै लागि जन्मेकाहरुको लागि भन्दा फरक नपर्ला । उस्को आँखा नदेखिने ( गौण सँग हेर्दा मात्रै छुट्त्याउन सकिने ) डेणो भए पनि तारिफ गर्नेहरुले भन्ने गरेका वाक्यहरु यही हुन्थे ' बदामी आँखा थोरै डेणो हुँदा झन कत्ती माया लाग्दी देखिने ! भगवानले मोहनि नयन दिएछन यस्लाई ! ' 
अनि घरपरिबारकाले गाली गर्दा या जिस्क्याउदा भन्ने नाम थियो ' डेणि ' । कसैले डेणि भनिदिए पछी उस्को रिस नाकको टुप्पो मा आएर बस्थ्यो ! उस्का नाकका पोहरा फुल्थे ! रिसले ओठ थर्थरिन्थियो अनी उ रिसलाई नियन्त्रण गर्न ओठ्को दाहिने कुना खुम्च्याउथि र एकोहोरो हेर्थी डेणि भन्नेलाई , त्यो बेला उ साच्चैको डेणी झै देखिन्थी । एकोहोरो रिसालु हेराइले उस्का आँखा केही डेणा बन्थे ! झड्याङ्ग रिसाउने स्बभाबकि इन्द्राको गुनको बखान गर्ने हो भने मनमा लागेको कुरा निर्धक्क भन्ने फरासिली , अन्याय नसहने निडर स्बाभिमानी , सके सम्म अरुलाई आफ्नो बोली व्यबहारले नपिराउने सचेत स्बभाबकी थिई । सबैकी प्यारि थिई इन्द्रा । निर्मला फूपू को त झनै प्यारि भदैनी थिई । आफ्नै हातले हुर्काएकी थिई निर्मलाले भदैनी इन्द्रालाई । आज बरपक्षकाहरु हेर्न आउने दिन , बुइगलमा इन्द्रा फूपू को साथ मा छे साज - सज्जाको लागि । 
तल बाट इन्द्राकी आमाले बोलाइन ' निर्मला नानी ! ( नन्द लाई नानी भन्ने चलन पनि हुन्छ ) 
' हजुर भाउजु ! ' बुइगल बाट तल आइन निर्मला । 
' नानी ! अब इन्द्रालाई ल्याउनु परो ! उता बाट आइपुग्ने बेला भो नानी ! चिया - किस्ती इन्द्राले बोकी ल्याउनु पर्छ । ' 
' हबस भाउजु ' 
निर्मला इन्द्रालाई लिएर किचन मा गइन । 
करिब एक बज्नै लाग्दा बर पक्षकाहरु आइपुगे । 
नमस्ते आदान प्रदान संगै भलाकुसारी भइरहेको छ बैठकमा । इन्द्राकी आमा ईन्द्रलाई बोलाउन किचनतर्फ लाग्दै थिइन् उता बाट फूपू र इन्द्रा संगै आईपुगे चिया किस्ती बोकेर । इन्द्राको सौन्दर्य बिहानिपखको फूल झैँ खुलेको थियो सेतो कुर्ता सुरुबाल र मेहेन्दी हरियो सल मा । दाँया - बाँया गालामा बेपर्बाह झरिरहेका केही केश राशी र आखी भौ बिचको सानो गुलाबी टिकाले थप् मिठो आभा छरिरहेकोथियो । इन्द्रालाई बर पक्ष का ले मन पराए । इन्द्राको परिवार छोरीलाई हेर्न बर पक्षले सहर्ष स्विकार गरेकोमा अत्यन्तै खुशी भए । छोरीलाई र आफूहरु लाई भाग्यमानी सम्झिए । इन्द्रा पनि खुशी थिईन् । इन्द्राका भाबी श्रीमान कर्ण पनि खुशी थिए । दुबै पढेलेखेका शिछित थिए । दुबै परिवार को आपसी सल्लाह मा विवाह को मिती पनि तोकियो । २०६७ मंसिर २० गते । तीन हप्ता बाँकी थियो विवाह को तयारी पूरा गर्न । समाजमा भई चली आएको चलन अनुसार चल्न ऋण -धन गरेर इन्द्राका परिवार ले सबै तयार गरे । 
~~~~
आज २०६७ मंसिर २० गते विवाहको दिन । 
इन्द्राको घर ध्बाजा - फूलपाती - तोरणले सजाइएको छ । बर् पक्ष , पाहुना , इस्टमित्र सबैलाई स्बागत सत्कार भईरहेको छ । एक आपसमा नमस्ते आदान - प्रदान चलिरहेको छ । भोज-भतेरका लागि जिम्मा पाएका व्यक्तिहरु यता उता दौड्धूप गरिरहेका छन । पन्डित जि आगनको जग्गे मा दत्तचित्त तयारी गर्दै छन । अब बर बधु लाई जग्गे मा बोलाइने बेला हुँदै छ । यसैबेला माथि बुइगलमा खल्याँग्बल्यंग स्बर सुनियो । माथिबाट इन्द्राकी माइजू अध्यारो मुख बनाउदै इन्द्राको बुवालाई बोलाउन आईन । उनी हत्तारिदै माथि पुगे । तल आगनका पाहुनाहरुमा एक किसिमको स्तब्धता छायो । अघि सम्मको रौनक बातावरण एकैछिनमा चिस्सिन पुगेको थियो । सबै एक अर्काको मुखमा हेर्दै थिए । उता माथि बुइगलमा भने खल्बल को स्बर झन बढ्दै थियो । ' यसरी झुक्याउन पाईदैन ! ' जस्ता शब्द चै तल आगन सम्मै सुनिएको थियो पुरा वाक्य नबुझिने गरी । आगनमा सबैले दुलाहा र उन्का परिवारहरुको मुखमा हेर्न थाले । बातावरण असजिलो हुँदै गैरहेको थियो । 
माथि बाट सबै तल ओर्लिए । दुलहिका बाबुआमा , मामा माइजू , काकाकाकी - दाजुभाउजु सबैको अनुहार मा असन्तुस्टी पोखिएको छर्लङै देखिन्थ्यो । 
' केही समस्या त परेन ? ' पाहुना पक्ष मध्यकाले एकले सोधे । घुम्टोमा ढाकिएकी दुलही जग्गेमा चुपचाप बसीन् । दुलाहा पक्ष का पाहुना मध्यका एकले प्बाक्क मुख फोर्दिहाले , ' के भयो ! अघी माथि यसरी झुक्याउन पाइदैन भन्ने आबाज सुनियो नि ! ' भन्दै दुलही तिर शन्कात्मक नजरले हेर्न थाले । फेरी बिस्तारै खैलाबैला जस्तो भयो बातावरण । कतै रोजिएको बधु को ठाउँ मा अन्य त परेको छैन भन्ने अर्थ मा ति पाहुनाले नजर फ्याकेका थिए दुलही माथि । उता बुइगलमा इन्द्राले सबै कुरालाई साम्य पारेकी थिइन जस्मा इन्द्राकी फूपूले पनि चर्को साथ दिएकी थिइन इन्द्रालाई , र उनिहरु तल आगनमा आएका थिए तर बर् पक्ष मध्यका एकले आगोमा मट्तितेल खनाइ दिए !
इन्द्राको काका बम्किए ' झुक्याउन त हजुरहरु ले झुक्याउनु भो नि ! नसक्ने भए बरु पहील्यै भन्नु पर्थ्यो ! किन भारिका भारी बजारिया गहना ( सुन को जलप लगाइएको नक्कली गहना ) दिनु पर्थ्यो छोरीलाई ! हाम्ले त दाईजोको कुनै पनि बस्तु नक्कली बनाएका छैनौ । '
अघी बुइगल मा खल्याङ्बल्याङ भएको कारण अब बल्ल छताछुल्ल्ल भयो । दुलहा पक्षका नातेदार लाजले मरे तुल्य भए । 
' हाम्रो यत्रो अपमान !!! खुट्टा भए जुत्ता जती नि पाईन्छन ! ' दुलाहा पक्ष का एक जना बुढो मान्छेले रोष ओकले । 
' ऐल्यै यस्तरी झुक्याउने ले भोली के गर्लान भन्ने हाम्रो पनि चिन्ता हो ! ' दुलहिकी काकी पनि उसै गरी चिच्याइन । 
यही कुरालाई बुइगलमा इन्द्राले साम्य पारिसकेकी थिइन तर पुन : बिस्फोट भयो जग्गेमा आइपुग्दा । दुई पक्ष बिच चर्काचर्की शुरु भयो । विवाहको रमाइलो बातावरण नराम्ररी भत्कियो । जग्गे मा बसिरहेकी इन्द्रा जुरुक्क उठिन् जग्गे बाट । उनी चिच्याइन ' चुप लाग्नोस हजुरहरु !!! ' एकाएक सबको बिस्मित नजर इन्द्रा माथि पछारिन पुगे । इन्द्रा जग्गे देखी बाहिर को घेरामा उभिएर शरीर मा लगाइेको शिरबिन्दू , नेक्लेस , सिक्री - लकेट , बालाचुरी ,औठी आदी एक-एक गर्दै फुकाल्दै टपरी मा थुपार्न थालिन् । सब ट्वाल्ल परेर उन्लाई हेर्न थाले । अग्नी होम गर्ने चम्चाले जग्गेको माटो र कुश को त्यान्त्द्रा लाई दाहिने हातमा राखीन् , त्यस पछी भाबी श्रीमान कर्ण तिर हेर्दै बोलिन , ' मलाई गहना पनि चहिदैन । यि दाईजो पनि चाहिदैन । हजुर ले यै माटोले सिउदो भर्दिनुस् ! यै कुश को औठी लगाइ मलाई मात्रै स्बिकार्नुस् ! '
कर्ण अकमक्क पर्‍यो । उ बुवा- काका - दाजु हरु को अनुहार मा हेर्न थालयो । उनिहरु को आँखामा स्बिकारोक्ती को लेश थिएन । अब स्थिती असहमती मोड तिर फर्किएको थियो । यस्तो विषम परिस्थिती मा आफूलाई साथ दिन नसकेको देख्दा आफ्नो जिबन साथी हुन गइरहेको भाबी श्रीमानको आत्मिक तौल हत्केला भरिको माटो र दुई त्यान्द्रा कुश बराबर महशुस हुन पुग्यो इन्द्रालाई । आफू जान्ने बुझ्ने भए देखीन् फूपूको जिबन जिबन्त पढ्दै आरहेकी इन्द्राले अकस्तमान गम्भिर निर्णय लिदै परिस्थिती सँग भिड्न मन दर्हो गरी तयार भईन र बर पक्षकाहरुलाई हेर्दै चूनौतिपूर्ण आबाजमा बोलिन , ' मलाई ! मात्रै मलाई ! मेरो आत्मालाई स्बिकार्ने कोही हुनुहुन्छ ? ( उस्ले माटो र कुश लिएको हात अघी बढाउदै बोली )
सियो खसे पनि सुन्न सकिने जस्तो भयो बातावरण । मुर्दा शान्ती ले भरिएको बातावरण बाट निराश हुन पुगेकी इन्द्रा माटो र कुश हातबाट जसै तल झार्न खोज्दै थिइन विवाह को हुल बाट एकको स्बर सुनियो ' यदी ----' 
वाक्य पुरा हुन पाएको थिएन सबै पछाडि फर्केर हेर्न थाले आबाज आए तिर । 
' यदी तपाईंले स्बिकार गर्नु हुन्छ भने म तयार छु तपाईं जस्तो आत्माबिस्बासी नारीलाई जिबन साथी बनाउन ' । 
उ केही अघी बढ्यो र इन्द्राको अगाडि आईपुग्यो । 
' शायद मैले खोजिरहेको आत्मस्बभिमानी जिबन साथी तपाईं जस्तै हुनुपर्छ ! तपाईंको साहसिक सोचलाई सलाम छ मेरो ! , 
सोच जिबन रथ को इन्जिन हो । साहसी सोच बिचार भएको ब्यक्ती सँग जिबन रथ अगाडि बढाउन सहज हुन्छ । '
उ एक छिन् रोकियो र पुन बोल्यो , ' पेशाले म पत्रकार हुँ । पत्रकार को जिबन संघर्षशील हुन्छ नै । मेरो संघर्षशील जिबन लाई तपाईं स्बिकार्नु हुन्छ भने तपाईं जस्तो नारीलाई जिबन साथी बनाउन पाउनु मा म आफूलाई भाग्यमानी सम्झने छु इन्द्रा जी ! ' 
इन्द्राले हात अगाडि बढाइन , उस्ले माटो लाई साछी राखी इन्द्राको सिउदो भरिदियो र कुश घुम्राएर औठी स्बरुप लगाइ दियो । 
उस्को नाम ॐ , बर्ष ३३-३४ को हुदो हो । शारिरिक उचाइ कर्ण को तुलनामा केही होचो नै थियो तर उस्को निर्णयक छेमता बलियो र सोच बिचार धरहरा झै अग्लो थियो । 
' माटोको सिन्दुर र कुशको औठी ' इन्द्राको प्रस्तावलाई सहर्ष स्विकारी २१ औ शताब्दीको शिछित सोचको व्यक्तिमा खरो उतारेको थियो आफूलाई . 
~~~~
sampark
tulsirampandey48@gmail.com        tulsirampandey48@yahoo.com

शुभ चिन्तक पाठक को आँखामा कर्णाली ब्लुज


सेप्तेम्बर १८- १९ तिर म काठमान्डौ मै थिए । २० तारिख मा मलाई बेल्जियम फर्किनु थियो । यता फर्किनु अघी २-४ बटा राम्रा नेपाली किताबहरु सँगै लिएर फर्किन्छु भन्ने सोचमा थिए । अलिअली किताब पढ्ने बानि Satelite’s blog हेर्दा हेर्दाइ - हेर्दै हुन थालेको थियो । स्याटेलाइट जिले किताब पढि सक्नु भए पछीयस्तरी बर्णन गर्नु हुन्छ कि त्यो किताब पढू पढू भैहाल्छा। नेपाल हिड्नु अघि मैले satelite ji संग पढ्नै पर्ने राम्रा किताब हरु को नाम लेखिदिनुस न २-४ बटा भनेर अनुरोध गरेकी थिए। ति किताब हरुको लिस्ट मा ' कर्णाली ब्लुज ' पनि थियो। १०-१२ दिनको काठमाण्डौ बसाइमा भोटाहिटी सम्म पुग्ने फुर्सद मिलाउन सकिरहेकी थिइन , भोटाहिटी नपुगे पनि आफू हिड्दा देखिने अन्य ठाउँ गोंगबु , सामाखुसी ,सोर्ह खुट्टे , बसन्तपूर नजिकका पुस्तक पसलहरुमा ' कर्णाली ब्लुज ' सोधिरहेकी थिए तर कहिँ पनि भेट्न सकिन। कान्तिपथ को बुक सेन्टर , बागबजार या भोटाहिटी नै पुग्नु पर्ने थियो मलाइ कर्णाली ब्लुज को लागि । आइतबार यता आइपुग्नु पर्ने भएकोले शुक्रबार
  भोटाहिटी पुगे। त्यहा साझा पुस्तकभण्डार बन्द थियो तर त्यहिँ अगाडिको अर्को पुस्तक पसल खुल्ला थियो। त्यहाबाट केहि किताबहरु लिए जस्मा ' कर्णाली ब्लुज ' पनि थियो जसको म तिब्र प्रतिक्षामा थिए। काठमाण्डौ एअरपोर्टबाट पढ्न शुरु गरेको कर्णाली ब्लुज दोहा - मेलान - ब्रसेल एअरपोर्ट आइपुग्दा सम्मा सिद्दी नै लागेको थियो। मात्र भाग १० बाकि थियो। यी बिचको यात्रामा मेरो शरीर एअरपोर्टहरु मा भए पनि मन चै कर्णाली ब्लुज का अक्षरहरुसंगै दुर्गम क्षेत्र कर्णाली कै सेरोफेरोमा हराई रहेको थियो। पाठकलाई आफ्ना शब्दहरु संगै आफूले लेखेको किताबको संसारमा भुलाउन सक्ने यी उदयीमान तारा बुद्दी सागर जीलाइ अझै उज्यालो बन्दै जाउन शुभ चिन्तक पाठकको नाताले शूभ कामना दिनु अघि बेस्मारी कान निमोठ्न चाहन्छु तर मेरो हातले होइन केही आलोचनात्मक शब्द हरु मार्फत ।

केही अश्लिल्ल मु ------ मा --- जस्ता शब्द हरु लाई बहा जस्तो अत्यन्तै बुझ्झकी लेखकले बडो आरामका साथ लाज नमानीकन लेख्नु भएको देख्दा तीन छक्क परे !!!

शब्द मार्फत आफूले देखेको भोगेको सुनेको समाजलाई जस्ताको तस्तै प्रस्तुत गर्ने क्रममा यसरी लेखिएको तर्क उठ्न सकेता पनि यस्ता अश्लिल्ल शब्दहरुलाई साहित्यमा स्थान दिनु हुँदैन थ्यो ! नराम्रो कुराको देखासिकी असाध्यै छिटो गर्छन् युबापिढिले । बुद्दी सागर युबा लेखक हुन । उनी अहिलेका युबा पूस्ता को प्रेणणा हुँदै छन । उनको लेखात्मक शैलीलाइ रुचाउने प्रशस्त फ्यानहरु छन । उनी जस्ता लेखकले साहित्यमा यस्ता अश्लिल्ल शब्द हरु लाई जस्ताको तस्तै थपक्क राखिदिदा यस्ता शब्दहरु पच्ने बानी पर्न सक्छ जुन सभ्य समाजको निम्ती सुहाउने कुरा हुने छैन । नसुहाउने असभ्य लेख लेख्न असल लेखकलाई सुहाउदैन । अब देखी फेरी यस्तो शब्द हरु लेख्ने कि नलेख्ने बुद्दी सागर जि? मिठो हलुबा दिने बालुबा मिसाएर ! यो त भएन नि !!

जे हुनु भयो , अब फेरी त्य्स्तो भूल नगर्नु नै बुद्दिमानी हुन्छ बुद्दी सागर जि को लागि । बिग्रिएको लाई सुधार्न सकिन्छ ।अब पून: प्रकाशन हुने दोस्रो संस्करणमा यस्ता अश्लिल शब्दहरुको सट्टा उस्तै आसयका पर्यायवाची शब्दहरु उल्लेख गरेर प्रकाशित गर्नु तपाईं जस्तो जिम्मेबार लेखकको नैतीक कर्तब्य भित्र पर्छ । आशा छ निराश पार्नु हुने छैन अब प्रकाशित हुने र आउँदा किताबहरु मा ।

शुभ चिन्तक पाठक लाई जती कान निमोठ्ने अधिकार हुन्छ उती नै सल्लाह सुझाब दिने अधिकार पनि हुन्छ । 
बुद्दी सागर जि ! ' कर्णाली ब्लुज ' पढ्ने क्रममा म धेरै पटक कर्णालीका मान्छेहरुले बोल्ने भाषा नबुझेर अलमल्ल परे । तपाईंका धेरै पाठकहरु यसरी नै अलमल्ल पर्नु भएको हुनुपर्छ । तसर्थ अब फेरी निस्किने दोस्रो सस्करणमा उपन्यास को अन्तिम या शुरु को पेज तिर उक्त भाषाहरु को शब्द को अर्थ राखिदिनु भए सुनमा सुगन्ध हुने थियो । 
अर्को कुरा , फाइन प्रिन्ट को लागि पुस्तक कभर छप्न दिल्ली पुग्नु परेको कुराले चै " असली सुनलाई कसी लगाउनु पर्दैन " भन्ने उखान मुर्छा परिपरि हाँस्दा हाँस्दै धुरु धुरु रोइरहेको आभास भो ------
यि एक - दुई तिक्तताका बाबजूद इमान्दार पूर्वक भन्नु पर्दा ' कर्णाली ब्लुज ' पढिसकेपछी प्रसंशा गर्न मन लाग्छ , सत्य भन्छु म फुर्सद पाए भने ' कर्णाली ब्लुज ' फेरी पनि दोहोर्याएर पढ्न मन छ मलाई , यस् हद सम्म बाध्न सफल भयो ' कर्णाली ब्लुज ' ले मलाई !तपाईं युबा पिढी को उदाउदो चम्किलो तारा बन्दै हुनुहुन्छ , हाम्रा युबा पिढिलाई उज्यालो मार्गमा डोर्याउनुहोस् तपाईंको लेखहरु मार्फत , उत्तरोत्तर प्रगतिको शुभकामना हिर्दय देखी नै । 

दशैंको शुभकामना कस्ता कस्ता


दशै लगभग सकियो, तर फाट्टफुट्ट शुभकामना आउदै छ । दिक्क लागेर हो कि ब्यस्त भएर हो, यो वर्ष इमेलबाट शुभकामना पठाउने काम बहिष्कार पो गरिएछ । धेरैले शायद यो बर्ष चनाले शुभकामना इमेल पठाएन भनेर हेक्का राख्ने फुर्सदै पाएन होलान । तर थोरैले ठाने होलान दौतरीमा लेख्न थालेदेखुन चनाको भावै बढ्या छ, दशैमा ग्रीट नि गर्दैन साले । दशैको शुभकामना पठाउनु पर्छ भन्ने नसोचेको त हैन, तर यताउता फत्र्याकफुत्रुक गर्दा गर्दै अष्टमि लागीसकेछ, त्यसपछि त के शुभकामना दिनु जस्तो लाग्यो । उसैपनि सप्तमि पछि लगभग सबै अफिस बिदा हुन्छ नेपालमा । बिदेशतिर पनि मिलुञ्जेल मिला'र दशै मनाउने चलन शुरु भा'छ । दशैको चटारो सक्केपछि भएभरका इमेल खोलेर हेर्दा पो देखें - निकै धेरै शुभकामनाहरु चाङ लागीराखेका । २० बर्ष पहिला छुट्टिएका लंगुटिया यार देखिन अस्ति भर्खर चुनावताका बाँडिएका इमेलमा देखेका नामहरु समेत happy vijaya dashami भन्न लाइन कसेर बसेका थिए ।

शुभकामना थरी थरीका थिए, अल्छि लाग्दो ३ शब्द देखुन लिएर हप्तौ लगा'र आफैले बनाको पोष्टकार्ड, पारीवारीक फोटो देखुन लिएर भगवानका तस्वीर समेत, थरी थरीका इ‍-ग्रीटिङ कार्ड देखुन लिएर कवितात्मक संदेश, संस्कृतभाषाको श्लोक देखुन लिएर राजनीतिक उपदेश समेत अनेक थिए । तर निकै थोरै संदेशमा प्रत्यक्ष वादविवाद देखे मैले । नेपालबाट इञ्जिनियर बनेकाहरुको मेलिङ लिस्टमा भने दशैको शुभकामना नेताहरुको सदबुद्धी पलाओस भन्ने आशयको थियो । त्यस उपदेशले केहि चरण वादविवाद समेत गरायो, जुन मलाइ चाखलाग्दो लाग्यो । आज मैले त्यहि वादविवाद उठाएर यहाँ ल्याएँ । केहि ब्यक्तिगत प्रसंग र शब्द चयनमा सामान्य काटकुट गरेर प्रस्तूत गरेको छु । पढेर प्रतिक्रिया लेख्न नभुल्नुहोला है ।

सपना देख्नुभयो?,


त्यसो त सपनाको बारेमा भिन्न भिन्न धारणाहरु बिद्यमान छन। कोहि सपनालाई केवल सुषुप्त मनले उब्जाएको कोरा कल्पना मान्छन भने कोहि भने हरेक सपनाले भिन्न भिन्न अर्थ राख्‍ने र ती सपनाहरुले मानव भविश्य र मनोदशाको संकेत गर्ने बताउँछन । भिन्न भिन्न धर्म र समुदायमा कुनै एक सपनाको बारेमा पृथक पृथक अर्थहरु समेत छन, भने यता केहि समयमा सपनाको वैज्ञानिक खोजि गर्ने कार्यहरु पनि चलि रहेका छन। वैज्ञानिकहरु मै पनि सपनाको अर्थ र संकेतको बारेमा मतभेदहरु भए पनि सपनाको अध्ययनबाट कुनै पनि मानिसको मनोदशा र मानसिक विकास आदि बुझ्न भने यस्ले निकै मद्दत गर्ने कुरा प्रमाणित भैसकेको छ।

सपना
फल
आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ । आकाशमा उड्नु लाभ हुन्छ । आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ । आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ । आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ । पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो । पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो । बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ । जमीनसम्म देख्नु दौलत मिल्छ । जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ । आकाशका धूलो वा आँधी देख्नु त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो । बिजुली देख्नु मालदार हुइन्छ । जमीनमा मिल्नु वरवाद होइन्छ, फरेबमा फसिन्छ । जङ्गलमा हिँड्नु धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ । जङ्गलमा खानु पिउनु धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ । माटो खानु धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ । माटोमा हिँड्नु धनी होइन्छ । ईनार खन्नु आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ । इनारबाट सिँचाइ गर्नु आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ । इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नु दीन वा दुःखीहरुको सेवा गर्छ । इनारबाट पानी पियाउनु साधु वा महात्माको सेवा गर्छ । इनारबाट पानी निकाल्नु आम्दानीमा वृद्धि हुन्छ । इनारमा झर्नु मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ । इनारबाट निस्कनु जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ । पानीमा हिँड्नु कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ । खोलामा बाढी देख्नु रीस या मुसीबतको सूचना हो । नदीमा अँध्यारो देख्नु परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ । सोतो तर्नु मरण नजीकिएको निशानी हो । नदी या कुलोमा नुहाउनु कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ । भुसमा भासिनु मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो । कुलाको फोहोर पानी पिउनु कुनै रोगमा फस्ने सूचना हो । कुलोलाई अर्कातिर बगाउनु शोक वा मुसीबत हटेर खुसी हुइन्छ । हौज देख्नु कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ । नाउ देख्नु शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ । नाउमा चढेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ । नाउबाट सुखा भुइँमा उत्रनु दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ । नाउलाई सुखा मैदानमा देख्नु मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ । जमीनमा केही बनाउनु असल दिलको हुइन्छ । ताराको चमक देख्नु राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ । तारा समूहलाई अति चम्किलो देख्नु देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ । तारा निल्नु चोरी गर्छ र तकलीफमा फस्छ । तारालाई हातमा लिनु गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ । नाउसहित आफूलाई डुबेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ । पहाड देख्नु शत्रुमाथि विजय प्राप्त हुन्छ । पहाडमा हिँड्नु इज्जत मिल्छ, धेरै धन पाइन्छ । पहाडको मालिक हुनु कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ । पहाडमा लडेको देख्नु कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ । पहाडमा बाटो हिँडिरहेको देख्नु धैर्यवान् वा साहसी हुइन्छ । पहाडमा प्वाल पार्नु कसैसँग जालसाँजो गरिन्छ । पहाडमा चढ्नु अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो । फूल देख्नु प्रेमी/प्रेमिका मिलन पान खानु स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने पिँजडा देख्नु जेल-नेल पर्ने । हरियो वन देख्नु शुभ समाचार मिल्ने । सुख्खा वन देख्नु चिन्ता हुने । चन्द्रमा प्रतिष्ठा मिल्ने । ग्रहण आपत पर्ने । खाना बनाउनु सन्तान बिरामी हुने । सुन पाउनु धन जाने, हानी हुने । र्सप मार्नु कष्टबाट छुटकरा पाउने हस्ताक्षर गर्नु धनहानि हुनु । बिरालोले टोक्नु दर्घटना पर्ने तर बच्ने ।

किताब - लघुकथा


त्यो किताब लेख्न सजिलो थिएन ।

किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले नया नेपाललार्इ संबोधन गर्नुका साथै वास्तविक परिवर्तनको आभाष दिलाउन सक्नु पर्थ्यो । प्रगतिशील राष्ट्रले अबलम्बन गर्नु पर्ने स्पष्ट दिशानिर्देश र उसले हिड्ने नया गोरेटोको खाका कोर्नु पर्थ्यो
अनि समतामुलक न्यायप्रणालीको हँसिलो अनुहार प्रतिबिम्बित गर्नुपर्थ्यो किताबले ।

त्यसैले किताब लेखिने उर्दी जारी भयो । सैयौंको संख्यामा देशभरिका बडे बडे लेखकहरु भर्ना भए । उनीहरुको मुख्य काम त्यो महत्वपुर्ण किताब लेख्नु थियो । 

सर्वविदितै कुरा हो, शान्त वातावरणविना, हल्ली खल्ली र भाडभैलोको अवस्थामा लेखनकार्य सम्भव हुदैन। दिन, महिना र बर्ष बित्दै गयो किताब लेखिएन । कुर्दा कुर्दा पाठकहरु निराश भए ।

एकदिन मैले यसो चियाएर हेरें, उनीहरु कापी कलम बोकेर घरबाट त निस्कदा रहेछन तर दिनभर चौरमा पारिलो घाम तापेर मस्त निदाउदा रहेछन, अनि कसरी लेखिन्थ्यो त त्यो किताब ?

बुझ्दै जादा थाहा पाएँ, त्यो किताबको नाम "संविधान" रहेछ । 

हर्के र प्रजातन्त्र


हर्के आफूलाई ज्यादै भाग्यमानी ठान्थ्यो । सानै छँदा उसका बाले उसलाई ७ सा’लाँ कसरी प्रजातन्त्र आएर जनताको राज चल्न सुरु भएको हो भन्ने बताएका थिए र उ सधैं आफुलाई स्वतन्त्र नागरिक सम्झन्थ्यो ।
त्यसपछि उ जवान भयो र ४६ सालतिर फेरि आन्दोलनका कुरा चल्यो । गाउँको स्कूलमा ३ कक्षे पढ्दा पढ्दै खन-जोत नगरे अगेनामा आगो नबल्ने स्थिति आएकोले उसले अरु पढ्न पनि पाएको थिएन । गाउँका केही ठालुहरुलाई सोध्दा ‘७ सालको प्रजातन्त्र त नक्कली हो, अब चाही असली प्रजातन्त्र आउँछ’ भन्ने चाल पायो । प्रजातन्त्र पनि सक्कली र नक्कली हुन्छ र? उसले राम्ररी बुझेन, तर उसको ७ सालाँ प्रजातन्तर ल्याउने बाऊ बितिसकेका थिए फेरि यस पटकको प्रजातन्त्र पछि ‘गाउँ- गाउँमा बाटो, टोल-टोलमा स्कूल, सबैलाई काम, सस्तोमा माम’ दिने नाराबाट उ आकर्षित भयो र उ आफैं पनि लाग्यो आन्दोलनमा ।
खै के हो कुन्नी ४६ सालको असली प्रजान्त्र पनि २ -४ बर्ष नपुग्दै फेरि नक्कली नै भएको गाँई-गुई सुन्न थाल्यो उसले । पटक पटक प्रजातन्त्र ल्याउँदै, तीनै प्रजातन्त्र ल्याउने नेताहरुले फेरि त्यसैलाई नक्कली भनेको कुरा उसले बुझेन, तर यस्तो ठूला-ठुला कुरा बुझ्न आफ्नै पढाई कम भएको निर्क्योल निकाल्यो उसले ।
१०-१२ बर्ष गाँउमा ज्यान जोगाउनै मुश्किल भयो हर्केलाई । कहीले जनसेनालाई भई नभै भात पकाएर खुवाउनु पर्ने त कहीले जनसेनालाई खुवाएकोमा पुराना सेनाबाट लठ्ठी खानु पर्ने । जे होस अब भने किसानको ऋण माफ हुने, गाउँबाट सामन्ती साफ हुने । निजी बिद्यालय हटाईने, सरकारीमा शुल्क घटाईने। खाना, नाना र छाना सबैलाई बरोबर पाईने आकर्षक योजना सुन्यो उसले गाउँकै चौतारीमा ।
आजसम्म त यस्तो राम्रो योजना यस्तो सजिलै पुरा हुने उसले कहिल्यै सुनेको थिएन ।‘घर घरमा धारा, पानी खलल, बिजुली बत्ती गाउँ-गाउँमा, देशै झलल’ सुन्दा मात्रै पनि उसलाई जोश आउँथ्यो “ आफ्नी बुढीले आधा घण्टाको बाटोबाट पानी बोकेर ल्याउँदा र छोरा छोरीले मट्टीतेलको अभावका कारण टुकी बत्ती समेत बालेर पढ्न नसकेकोमा मन कुढिए पनि अब भने दिन फिर्ने भो भनेर फेरी उ होमीयो आन्दोलनमा ।
अरु त के जान्थ्यो र, उही ठुलाले जे भन्यो त्यही गर्‍यो । कुनै दिन खेतमा पानी लाउन छाडेर पनि जुलुसमा गयो, कहीले भैंसीलाई घाँस पराल छुटाएरै भए’नी धर्नामा बस्यो । उसका धेरै दिन यस्तै यस्तै देश बनाउने काममा बिते। जे होस बुढीले डोकाँ’ पानी बोक्न नपरे र छोराछोरीले सित्तैमा स्कुलमा पढ्न पाउने र आफ्ना घराँ नि सस्तोमा बिजुली बल्ने भए अरु जे सुकै होस उसले सोचेन। कति दिन भोक-भोकै दगुर्‍यो, कति पटक, लाठि र बुट पनि खायो, तर हिम्मत हारेन, घरकी बिरामी बुढीलाई पनि छाडेर उ ‘नयाँ नेपाल’ बनाउनै लाग्यो ।
धेरै दिन पछी उसले गाउँमै सुन्यो ‘जनताले जिते रे’ । कम्ता खुशी भएन हर्के, छिमेकीको रेडियोमा यस्तो खबर सुन्दा !, गाउमै पनि अबिर जात्रा निस्क्यो सबैजना नाचे, हर्केले पनि घराँ गएर बुढीलाई खुशिको खबर सुनायो ।
दिन, हप्ता, गर्दै महिना बिते, हर्के आँगनमै धारा, कोठामा बत्ती र छोराछोरीको स्कूलमा पैसा तिर्नु नपर्ने खबर आउँछ कि भन्दै कान ठाडो गर्दै हिड्थ्यो । तर खै त्यस्ता खबर त केही आएनन् उल्टै स्कूलमा पनि केजाती हो कर तिर्नै पर्ने भा’कोले झण्डै महिना दिन गाउँकै स्कूल पनि बन्द भए र कर समेत लागेको ‘फीस’ झनै बढी भएको कुरो पो सुन्यो हर्केले ।
उता केजाती कुरा नमिलेर हो गाउँमै खुलेको दूध चिस्याउने र संकलन गर्ने एउटा उद्योग पनि एक दिन जलाईएछ । अब हर्केका घरमा बन्ने १-२ लिटर दूधले पनि बजार पाउन छाड्यो । बाध्य भएर हर्केले ५-६ कक्षेमा पढ्दै गरेका छोराछोरीलाई घरकै काममा लगाउनुको विकल्प भेटेन ।
बुढी बिरामी परेकी धेरै दिन भो। गाउँमा केही नलागेर हर्के उसलाई शहर लाने बन्दोबस्तमा लाग्यो । ऋन,सापटी गरेर बुढीलाई काठमाण्डौ लग्न खोजेको पनि के के हो अग्रगामी सुधारको माग र स्वायत्तताको आन्दोलनले उसको बाटो खुलेको छैन ।
अघिल्लो हप्ता बल्ल-तल्ल हर्के बुढीलाई लिएर शहराँ पुगेको छ, तर खै आज पनि नागरीक सर्बोच्चताको लागि भयानक आन्दोलन र’छ । बल्ल बल्ल शहर पुगेका हर्केका जोडी शहरमै अलपत्र छन। एकापट्टिका वर्दिधारीहरु उसलाई ‘यहाँ भन्दा अगाडि नबढन’ भन्दैछन । अर्को तर्फका आन्दोलनकारी उसलाई ‘यो देशै तिम्रो हो त्यसैले जती सक्यो अगाडि बढ’ भन्दैछन ।
उ अलमल्लल छ । एकाथरी नागरीक सर्बोच्चता बनाउन थालेका रे, अर्काथरी जनताकै मौलिक हक जोगाउन लागेका रे । दुबैथरी जनताकै लागि लागिपरेका हुन भने विवाद के छ त्यो पनि बुझ्न सकेनन् हर्केका बुढा-बुढीले ।
अस्पतालको हडतालले बिरामी देखाउन पा छैन, गाडिको हडतालले गाउँ फर्कन नि पा छैन। एउटा मन्दिरको सत्तलमा सात दिन बसेपछि हर्केका जोडी बेहाल छन। शारीरिक पीडा र ग्लानिबस बुढीले हर्केलाई सोध्छीन, “...हैन बुढा! यसपालाको प्रजातन्तर पनि नक्कली नै रे ‘च कि क्या हो ?”
‘प्रजातन्तर नक्कली हैन बुढी, नेता नै नक्कली रहेछन... नत्र एउटै देशाँ तीन पटक प्रजातन्त्र कहीँ आउँछ…” हर्केको मुखबाट अचानक निस्कन्छ “...नेता नक्कली भएसम्म सक्कली प्रजातन्तर कहिल्यै आउँदैन जनतालाई... ”

पर्खाई.


उसले चुरोटको अर्को लामो सर्को तान्यो। 
बस, टेम्पो, मोटरसाइकल, साइकल र मान्छेहरु सबै अधैर्य देखिन्थे ऊ जस्तै। धुलो त मानौँ भुईँबाट बसाइँ सरेर हावामै कतै आफ्नो साम्राज्य फैलाऊन खोज्दैथियो। चुरोटको धुवाँ उडाउने बित्तिकै उसले एकपटक नराम्रो संग खोक्यो र फेरि उतै हेर्न थाल्यो।

३ जना एक अर्काको अनुहार ठोक्काऊलान जसरि नजिकै उभिएर बोल्दै थिए। 
“पैँतिस हजार…दुबई पठाइदिउँ?” 
“कति लाग्छ नि लाग्न चाहिँ?” 
“एक लाखमा भिसा आइपुग्छ!” 
“एक लाख!” 
“मेरो आफ्नै भान्दाईको म्यानपावर हो, दुबई गएर आउँछन् बर्षमा ३-४ पटक, चिनेको कम्पनिमा हो जानासाथ काम सुरु हुन्छ, सोच् राम्ररि!” 
उ सडकतिर हेर्न थाल्यो। 
“साला म्यानपावरहरु! ठगेर धनि हुन्छन र अझै अरुलाई कमाउने सपना देखाउँछन्!” 
“के गालि गर्नु, एक लाख त हैन २०-३० हजारमा जान पाइने भए भोलि नै उड्न हुन्थ्यो यो नरकमा आधीपेट खाएर बस्नु भन्दा त!” 
उसले थुक्यो र फेरि चुरोटको सर्को तान्यो। 
“अझै आइन त?” 
उसले आफैँलाई प्रश्न गर्यो र उता हेर्न थाल्यो। 
उसलाई यसरि घाम र धुलोमा कुर्न साह्रै बोर लाग्छ। 
“बालाजु हो? ल ल आउनुस छिटो!” 
बस नजिकै रोकिएको थियो र फुच्चे खलाँसिले उसलाई सोधिहाल्यो। 
ऊ केहि नबोलि मुख बिगारेर अलि पर सरेर बस भन्दा पर हेर्न थाल्यो। 
“ओ दाई नचढ्ने भए किन बस रोक्ने ठाउँमा उभिन पर्यो?” 
बस गुड्दै थियो र खलाँसि ऊ तिर हेरेर बोल्दै थियो। उसलाई हेपिएको आभाष भयो। 
उसलाई खलाँसिको टाउको बसको टायरमुनि हुलिदिन मन लाग्यो। बस गुड्दै पर पुग्यो,खलाँसिले उसलाई गिज्याउने भावले हेरिरहेको जस्तो लाग्यो। 
उसले चुरोट मुखसम्म ल्यायो र मुख बिगारेर हुत्याएर फालिदियो। फिल्टर सम्म बलिसकेछ। 
ऊ फेरि उतै हेर्न थाल्यो। 
“ के मर्थि र मुखले मात्र ठिक्क पार्छे सधैँ!” 
उसले मुख बिगार्यो। 
“दाई एक रुप्पे दिनोस न?” 
गाला र निधारमा कट्कटिएको मयल लिएर पँहेला दाँत देखाउँदै एउटा खाते ऊ संग पैसा माग्दै रहेछ। 
“के पैसा? चुप लाग् साले खाते!” 
उसले खातेलाई हप्कायो र खातेसंग छोइएला कि भनेर अलि पर सरेर अर्कै दिशामा हेर्न थाल्यो। 
पर ४ जना केटिहरु कुनै स्कुल ड्रेसमा शायद बस कुर्दै रहेछन्। 
उसको नजर त्यतै गयो। 
“सालीहरु सब घुस्याहाका छोरिहरु होलान्! बाउले ठगेर ल्याउँछ यिनिहरुको मोज!” 
केटिहरु एकआपसमा कुरा गर्दै हाँस्दै थिए। 
उसका आँखाले केटीहरुले लाएको स्कर्टमुनिको घुँडाहरु तुलना गर्न थाले। 
“ यी सबै केटासंग सुत्ने बानि परिसकेका हुन्!” 
उसले आफ्नो अनुमान मनमनै आफैँलाई सुनायो। 
“साली रश्मी अझै मर्दिन!” 
स्कर्टबाट देखिएको घुँडाबाट माथिको अंग कल्पनामा बनाउँदै उसले रश्मीलाई सम्झियो। 
कुनै स्कुलबस केटीहरुको नजिक रोकियो। 
केटीहरुको हल्ला बढ्यो। 
बसको ढोकाबाट कुनै भर्खरको केटाले हात झार्यो र पालैपालो सबै केटिको हात समात्दै बसमा तानेर चढायो। 
उसले फेरि मुख बिगार्यो। 
“ बिग्रने केटि धेरै हुन्छन बिगार्ने केटा कम हुन्छन!” 
उसले सोच्यो। 
उसको अनुमानमा काठमान्डुमा अल्पसंख्यक खेलाडी केटाहरुले बहुसंख्यक केटिहरुलाई बिगारेका हुन्छन्। 
ऊ बिगार्नेमा कहिल्यै परेन वा मौका पाएन। 
“र.. हरु के हेर्छन कुन्नि?” 
उसले फेरि आफैँलाई प्रश्न गर्यो। 
“गाँठ भए जे पनि पाइन्छ काठमान्डुमा!” 
उत्तर पनि ऊ आफैँले दियो। 
केटिहरुलाई तानेर बसभित्र उकाल्ने केटा बसको ढोकामा उभिँदै हाँस्दै थियो र बस गुडेर उसको नजिकबाट गयो। 
“साले म भन्दा ५-६ वर्ष कान्छो होला, लाईफको मोज सबै थाहा पाइसक्यो!” 
उसको निधारमा ईर्ष्याको लहर जन्मियो। 
उसले घडि हेर्यो र फेरि मुख बिगार्यो। 
“रश्मी आइपुग्नु पर्ने हो अब त!” 
उसले फेरि उता हेर्यो। 
“अस्तिको त्यो बाइकमा हालेर लाने रन्जन बोकासंग यसको पक्कै पनि लसपस हुन पर्छ!” 
“रन्जनेले दुख दिन्छ भएको नभएको गफ लाउँछ भन्छे अनि त्यसैसंग बाइकमा टाँसिएर हिन्छे साली!” 
उसको बिग्रेको मुख झन बिग्रियो। 
“ साला अर्को वर्ष यतिबेला सम्म त कसो एउटा बाइक नकिनौँला!” 
उसले खल्ति छाम्यो र फेरि चुरोट सल्काएर तान्न थाल्यो। 
“यु आर अ नाइस गाइ नि निरज, तिमी त्यो रन्जने जस्तो बिग्रेको छैनौ नि त्यसैले त तिम्रो माया लाग्छ मलाई!”
रश्मीले उसलाई भनेको सम्झियो। 
“बिग्रेकोसंग किन जोल्ठेर हिन्न पर्या नि तेल्लाई चाहिँ?” 
उसले रिसमा प्रश्न गर्यो, शायद आफैँलाई। 
“ह्या बाइकमा घरसम्म पुर्याइदिन लगाकि होलि नि कम्ता बाठि छे त्यो!” 
उसकै मनले उत्तर दियो। 
उसलाई थाहा छैन किन हो, एकैछिनमा उसलाई रश्मीको माया लाग्छ र रश्मी प्यारी, पवीत्र, सोझि लाग्छ र एकैछिनमा उसलाई रिस उठ्छ र रश्मी चालु, चरित्रहीन र धुर्त लाग्छ। 
उसले फेरि घडि हेर्यो। 
“उसकै काम गरिदिन भेटौँ भन्छे उहि आउँदिन आधा घन्टा भन्दा बढि भैसक्यो!” 
उसको रिस फेरि बढ्न थाल्यो। 
एक पटक हैन दुई पटक हैन धेरै पटक उसले रश्मीलाई यसैगरि कुरेको छ र रश्मी यसैगरि आइदिएकि छैन। उसको रिस यसैगरि आकाशमा पुगेको छ र रश्मीको सामु परेपछि रश्मीको मिठो बोलीमा नआउनुको कारण सुनेपछि ऊ सधैँ पत्याउन बाध्य भएको छ। 
उसलाई थाहा छैन ऊ किन मनमा उब्जेको रिस र प्रश्न रश्मीको अगाडि देखाउन सक्दैन। 
ऊ अलिकता बेचैन देखियो। 
“यस्ता संग लभ गरेर के बस्नु?!” 
उसले फेरि घडि हेर्यो र केहि सोचेर चुरोट फाल्दै बाटो काट्यो। 
एउटा कम्यूनिकेशनको बुथ भित्र छिर्यो। 
“दाई एउटा लोकल कल!” 
पसलेले केहि नबोलि फोन देखाइदियो। 
उसले कतैको नम्बर घुमायो। 
“हेलो! रश्मी छ?” 
“हजूर म निरज!” 
“साथि!” 
“हो निरज नै हो हजुर!” 
“ए! त्यहि त अहिले सम्म आइन भनेर यसो फोन गर्या! हस् त म कुर्छु अझै!” 
ऊ पैसा तिरेर बाहिरियो, र फेरि सडकवारी पहिलेकै ठाउँमा आयो। 
“ अलि ढिलो हिँडिछे जस्तो छ, मैकहाँ जाने भनेर हिँडेकि रे!” 
ऊ अलि सन्तुष्ट देखिन्थ्यो। 
“बिचरी टेम्पोमा कोच्चिएर हिँडिरहेकि होलि!” 
उसको मनमा माया र सहानुभूती पलायो। 
“खान कता लैजाने होला?” 
उसले मनमनै भन्यो र खल्ति छाम्यो। 
“छ्या त्यो समोसापसलमा त नाइँ पाखेहरु मात्रै हुन्छन!” 
उसलाई रश्मीले भनेको याद आयो। उसलाई फेरि हल्का रिस उठ्यो। 
“खल्तिमा डो नभएसि पाखे न साखे, त्यति नि बुझ्दिन साली!” 
“बेकरीको मम क्या दामि हुन्छ नि निरज!” 
फेरि उसलाई रश्मीले भनेको याद आयो। 
“त्यसको बाउको कमाई त्यहि हो, तेल्लाई कसरि थाहा हुन्छ काठमान्डुको सबै महंगा रेस्टुरेन्टको मेनु??” 
रिसले उसको निधार फेरि खुम्चियो। 
“खै अझै मरिन? यति दुख दिन हुन्छ तेल्ले मलाई?” 
“ओ निरजss!” 
नजिकै एउटा बाइक रोकियो। 
ध्रुवे रहेछ। 
उसले दाँत देखायो। 
“काँ जान लाग्या? हिन् म छोड्दिन्छु!” 
“हैन यार तँ जा, पछि भेटौँला मेरो काम छ!” 
उसलाई ध्रुवे गए हुन्थ्यो भन्ने लाग्यो। 
“त्यसैलाई कुर्या त होलास नि तैँले। के त्यस्तो केटिको पछि लागिरा तँ? अगि भर्खर रन्जनेले तन्दुरी रेस्टुरेन्ट भित्र लिएर गा’ छ त्यसलाई तँ साले यहाँ कुरिराख्!” 
ध्रुवेले हेल्मेटभित्रको आँखा चम्काउँदै भन्यो। 
उसको मुटु हल्का उफ्रियो, अनुहार अलि बढि कालो भयो। 
“हैन यार तेस्ता केटिलाई म किन कुर्थेँ, अरु नै काम छ क्या पछि भनौँला!” 
“ल त, तँ यहिँ घाममा पाकेर बस् म गएँ!” 
ध्रुवे हिँड्यो। 
उसलाई औडाहा भयो। 
“साली मलाई यता कुराएर त्यो बोकोसंग रेस्टुरेन्ट जान्छे!” 
उसको मुख झनै बिग्रियो। 
उसले टेम्पो रोक्यो। 
टेम्पोमा दुईजना मोटि आइमाईहरुको बिचमा ऊ लगभग हराएको थियो। टेम्पो घाममा तातेको थियो र ऊ भित्रको औडाहा भन्दा बाहिरको गर्मि कम थिएन। 
टेम्पो लैनचौरबाट लाजिम्पाट पुग्यो। 
बाटो भरि तन्दुरी रेस्टुरेन्ट हेर्न उसले निकै सकसका साथ टाउको तन्काइरहेको थियो। 
उसले टेम्पोको छत एकपटक ठटायो। 
ड्राइवरले शायद सुनेन, टेम्पोको स्पिड उस्तै थियो। 
रिस, जलन, गर्मि र औडाहामा उसले ४-५ पटक जोडले टेम्पोको छत ठटायो। 
टेम्पोले ब्रेक लगायो, सबैले उसलाई वाल्ल परेर हेरे। 
ड्राइवर भुन्भुनाउँदै थियो। 
“आफ्नो बाउको टेम्पो भन्ठान्छन साले पाखेहरु!” 
उसले ड्राइवरले बोलेको सुने पनि सुन्या नसुन्यै गर्यो। 
बाहिर ओर्लेर पैसा फुत्त फाल्यो र एकातिर हिँड्यो। 
फत्फताउँदै ड्राइवर टेम्पो चलाउन थाल्यो। 
उसले रेस्टुरेन्ट देख्यो। 
सर्ट प्यान्टबाट लगभग पुरै बाहिर निस्केको थियो। उसले सर्ट प्यान्टभित्र कोच्यो। उसलाई थाहा थियो उसको व्यक्तित्वले रेस्टुरेन्ट छिर्नु भनेको बेराहरुको गहिरो अविश्वासको आँखा आफ्नो टाउको देखि खुट्टासम्म बग्न दिनु हो। 
रेस्टुरेन्टको ढोका खुल्यो। 
ऊ सकपकायो र ढोकाको छेउमा उभियो। 
रश्मि कुर्थाको सल मिलाउँदै फटाफट बाहिर निस्किइन र अलि पर पुगेर भुइँमा हेर्दै उभिइन्। 
उसको मुटुको धड्कन बढ्यो। 
फेरि ढोका खुल्यो। रन्जन हेल्मेट समातेर फुत्त निस्कियो र रश्मी उभिएको ठाउँमा गयो। 
उसलाई दुवैले देखेनन्। 
“ स्टुपिड मान्छे के गरेको अगि?” 
उसले रश्मीको स्वर सुन्यो र लगत्तै रन्जनको हाँसेको स्वर सुन्यो। 
“को थियो र त्यहाँ? बेसि डराउने क्या तिमी?” 
रन्जन बाइक स्टार्ट गर्दै थियो। रश्मि पछाडि बसिन्। 
बाइक गुडेर टाढा जानु भन्दा अगाडि उसले रश्मीको आवाज सुन्यो- 
“ अस्तिकै बाटोबाट लैजाऊ है? धेरै दुख दिने हैन नि भन्द्या छ…….दुई घन्टामा घर पुग्न पर्छ उफ्!” 
बाइक टाढा पुग्यो। 
ऊसको मुटु उफ्रेको उफ्रेई थियो। 
रेस्टुरेन्टको ढोका खोलेर एउटा बेरा उसैलाई हेरिरहेको हरेछ। 
“के हेर्या दाई? तपाइँ हामिसित यस्ता केटि हिँड्दैनन्, यो दाई त हरिप छ, फेरि फेरि ल्याउँछ केटिहरु!” 
ऊ ऊसले केहिबेर अघि गरेको आफ्नै अनुमान सम्झँदैथियो, बिगार्ने केटा कम हुन्छन्!
संपर्क ;- तुल्सी राम पाण्डेय  सिमिचौर ८ रान्ग्बास पचासे गुल्मी नेपाल  email tulsirampandey48@yahoo.com tulsirampandey48@gmail.com