देश बदल्ने कसम खाएर राजनीतिमा लागेका राजनीतिक दलका नेताहरुले सत्ता र भत्ताको स्वाद चाखेपछि चाकडी, चाप्लुसी र चाटुकारी को स्वादलाई मिठो मान्न थालेको विकृतिले यहाँ नराम्रोसित जरा गाडेको छ ।
अब्राहम लिङ्कन अमेरिकाको राष्ट्रपतिका उमेद्वार भएर चुनाव प्रचारमा मतदाताका घरदैलो कार्यक्रममा थिए । एक जना बुज्रुकले एउटा खरेटो र एउटा कुचो उपहार दिँदै लिङ्कनसित भनेका थिए । तपाई अमेरिकाको राष्ट्रपति भएपछि मुलुकका विकृति र विसंगतिहरुलाई बढार्नुहोला । लिङ्कनले त्यो उपहार सहर्ष स्वीकार गर्दै लिएका थिए । तपाईले दिनुभएको खरेटाले मुलुकका ठूला समस्यालाई र कुचोले विकृतिका धुलोमुलो पनि बढारेर अमेरिकालाई स्वच्छ, हराभरा बनाउनेछु । यो मेरो अठोछ भयो लिङ्कनले भनेका थिए । लिङ्कनले राष्ट्रपतिमा विजय गरेपछि अमेरिकाभरि युगौंदेखि जरो गाडेर रहेका ठूला र साना बेथितिहरुलाई खरेटो र कुचो लगाएर सुधारका काम गरेका थिए । राष्ट्रपति लिङ्कनले खरेटो र कुचालाई आफ्नो बैठकमा भएको सोकेसमा सजाउ र बडो सम्मानका साथ राखेका थिए । भेट्न आउने पाहुनाहरुले लिङ्कनलाई खरेटो र कुचो सोकेसमा स–सम्मान राखेको देखेर छक्क पर्दै सोध्थे– ‘सोकेस’मा त खरेटो र कुचो ? त्यो सुनेर राष्ट्रपति अब्राहम लि«्कन पहिले ती उपहारका कथा सुनाउँथे अनि लिङ्कन विस्तारै भन्थे मुलुकका नराम्रा कुरा बढारकुँढार गर्न मलाई यी खरेटा र कुचाले सधै सचेत गराइरहन्छन् । त्यसैले मैले यिनीहरु हर्दम आँखा परिरहने ठाउँमा राखेको हुँ । गरिबजुलाहाका छोरा अमेरिकाजस्तो देशका राष्ट्रपति बनेका अब्राहम लिङ्कनले मुलुकमा रहेका विकृति र विसंगतिका डंगुर पन्छाउन दासप्रथाकोअन्त्य जस्ता अनेक काम गरेका उदाहरणहरु छन् । हाम्रो देशका नेता एवं सार्वजनिक र गरिमामय पदमा आसिन व्यक्तिले लिङ्कनको यो प्रसंगलाई हेक्का राख्ने हो भने यहाँ सुधारका कामको श्रीगणेश हुने सम्भावना देखिन्छ ।
हाम्रो देशमा पनि विविध क्षेत्रमा विकृति र विसंगतिका काला बादल मडारिएका मडारिएकै छन् । यहाँ कृषि, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, वन, ज्ञान–विज्ञान, हरेक क्षेत्रमा समस्या छन् । उद्योग, व्यापार, उत्पादन, वितरण हरेक कुरामा विकृति छन् । यहाँको सबैभन्दा ठूलो रोग क्षेत्र, जाति, लिङ्गमा विद्यमान गरिवी, अशिक्षा र पछौटेपन नै प्रमख रुपमा रहेको छ । शिक्षक, कर्मचारी, प्राध्यापक, किसान, उद्योगपति र व्यापारी आफ्नो पेसागत इमान्दारीमा भन्दा कुनै राजनीतिक दलको भ्रातृ संगठनको सदस्यता लिएर कर्तव्य पालनको क्षेत्रमा भन्दा आफ्नो राजनीतिक दलका नेताका अघिपछि गरेर गणेशले महादेव पार्वतीको परिक्रमा गरेर रिझाएको पौराणिक कथाको पुनरावृत्ति गरिरहेका पाइन्छन् । देश बदल्न कसम खाएर राजनीतिमा लागेका राजनीतिक दलका नेताहरुले सत्ता र भत्ताको स्वाद चाखेपछि चाकडी, चाप्लुसी र चाटुकारी को स्वादलाई मिठो मान्न थालेको विकृतिले यहाँ नराम्रोसित जरा गाडेको छ । विभिन्न पेैेसा र क्षेत्रका मुठ्ठीभर चाटुकार आफ्नो कर्तव्यबाट च्युत भएर नेताका मात्र पछि लाग्ने गर्दा राजनीतिक दलका नेताहरुले माखेसाङ्लामा परेर आफ्ना कर्तव्य नै बिर्सेका यहाँ जति पनि उदाहरण पाइन्छन् ।
हाम्रो देशमा कतिपय कर्मचारी सेवाग्राही सर्वसाधारणसित हाक्काहाक्की घुस माग्छन् । सरकारी अस्पतालका कतिपय डाक्टर आफ्नो निजी ‘नर्सिङ होम’मा वा ‘क्लिनिक’मा जान बाध्य पार्छन्, कतिपय शिक्षक र प्राध्यापक कक्षामा नपढाएर ‘ट्युसन’ पढ्न बाध्य पार्छन् । कतिपय उद्योगी व्यापारीले छलकपट र झुटो व्यवहार गरेर दिउँसै रात पारिरहेका हुन्छन् । अझै ठेक्कापट्टा, टेन्डर आदिको त अपरम्पार महिमा छ । सडक, खानेपानी र ढल त कतिको मोटाउने साधन बनेको छ । सडक पुल, पुलेसा निमार्ण गर्न ठेक्का दिने अधिकारी र ठेकेदार दिन दुगुणा रात चौगुना मोटाउँछन् उता बिचरो सडक दुब्लाउँदै जान्छ । सडक पिच गरेको साता नबिति सबै उक्किएर जान्छ ।
यहाँ हरेक ठाउँमा लुटपाट छ । कसैले दोवाटो ढुकेर लुट्छ । कसैले कानुन छलेर लुट्छ, कोही अर्काको खल्तीमा भएको पैसा सुटुक्क पाकेट मार्छ। सके ऊ पक्राउ परेर केही दिन प्रहरी कार्यालय र झ्यालखानको हावा खान पुग्छ । कोही राष्ट्रको ढिकुटीमा हात हालेर मोजमस्ती गर्छ, उसलाई मुलुकको कानुनले निरीह बनेर हेर्नु शिवाय केही गर्न लाउन सक्तैन यसरी चुलिने र चुल्याउनेहरुको हामीकहाँ दिनप्रतिदिन बोलवाला बढ्दै छ । उनीहरुका क्रियाकलापले हाम्रो समाजमा विकृति र विसंगतिको खिया थपिँदै छ । यसलाई खाक्सी लगाएर खुर्किने हिम्मती न विगतको शाही शासनमा नै देखियो न आजको लोकतन्त्र र गणतन्त्रमा नै अनुभूत गर्न सकिएको छ । यी बेथितिलाई बढारकुँढार गरी न्यायपूर्ण समतामुलक मुलुक निमार्ण गर्न कसैले योगदान ग¥यो भने नेपाली जनताले त्यस्तालाई देउता मानेर पुजा गर्ने छन् । नेपाली समाजमा अनादिदेखि तमाम खालका विकृतिका कसिंगर बढार्न सत्ताको बागडोर लिएर बसेकाहरुलाई लिङ्कनलाई झैं जनताले अमुल्य भोट दिएर खरेटो र कुचो उपहार दिइसकेका छन् । ती खरेटा र कुचाले कसिंगर बढारकुँढार गरेर प्रकृतिले दुलहीलाई झैं सिँगारेको यस देशलाई अझ सुन्दर, स्वच्छ र हराभरा बनाउनेतर्फ उनीहरुको ध्यान जानु नितान्त आवश्यक देखिएको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ