रविवार, 22 मई 2011

बर्दीधारी


जङ्लको छेउमा अवस्थित जमिनदारको गोठलाई गाउँलेहरू भैँसी गोठको नामले पुकार्थे । एकपटक कसैले त्यहाँबाट एउटा भैँसी चोरेर नजिकैको जङ्गलमा लगी काटेर खाएछन् । त्यसपछि जमिनदारले बाँकी भैँसी घरमा लग्यो । गोठ खाली भयो । त्यो ठाउँ गोठालाहरूका लागि खेल्ने र पानी परेका बेला ओत लाग्ने काममा आउन थाल्यो ।

एक दिन त्यसै गोठको कुनामा बाँधिएको मानव र अर्को कुनामा धोतीको पासो लगाएर झन्डिएकी उसकी श्रीमती मानवीलाई देखेर गोठालाहरूको सातो उड्यो तिनीहरू चिच्याउँदै गाउँमा पुगे । त्यो खबर गाउँमा आगोझैँ फैलियो । गाउँलेहरू सबै गोठमा पुगे ।
मानव बेहोस थियो । मानवी पासोमा झेन्डिएकी हुनाले जिब्रो टोकिसकेकी थिई । घाँटीमा कस्सिएको कपडाबाहेक उसको शरीरमा केही थिएन ।

त्यहाँ भेला भएका मानिसहरू खासखुस गर्न लागे- 'मानवको चेत फिर्‍यो र स्वास्नीको यस्तो खवस्था देख्यो भने उसले आफुलाई सम्हाल्न सक्नेछैन ।'
-सम्हाल्नुको कुरै कहाँ रह्यो, स्वास्नीबिना बाँच्नै सक्दैन ।’
-यही स्वास्नी पाएर मानव आफ्नो जीवन सफल भएको ठान्थ्यो ।’
-बिचरा, श्रीमतीबिना एक पल चैन लिन सक्दैनथ्यो ।’
-चौपट्टै राम्री थिई त, देख्नेहरू भन्थे- भगवानले निकै फुर्सद लिएर बनाएछन् ।’
-यो घटनाको जड मानवीको रूप हुनसक्छ ।’

केही बेरको गन्थनपछि गाउँलेहरूले अड्कल काटे- 'यस स्थितिमा मानवलाई होसमा ल्याउन उचित छैन किनकि मानवीलाई मृत देखेर ऊ आफु पनि मृत्यु वरण गर्न तम्सिनेछ । नत्र मानसिक सन्तुलन गुमाउने पक्का छ ।’ त्यसैले उसलाई बिस्तारै बोकेर घरमा लगेर राखे । अरू बाहिरिएपछि दुई जनाले उसको अनुहारमा पानी छर्किए ।

मानवले होस फिर्नेबित्तिकै रूँदै-कराउँदै वरपर आँखा दौडायो । उसको हाउभाउ देखेर त्यहाँ उपस्थित दुई छिमेकीमध्य दक्षिणले भन्यो- 'के भयो मानव ? किन आत्तिएको ?’
म यहाँ कसरी आएँ ? मानवी, कहाँ छ्यौ मेरी प्यारी ?’ ऊ छाति पिटेर चिच्याउन थाल्यो । रातभरी रोएर हुनसक्छ, उसको स्वर बसेको थियो ।

'तिम्री मानवी डोको बोकेर जङ्गलतर्फ गइन्, सायद घाँसपात गर्न होला ।’
छिमेकीको कुराले मानव जिल्लियो । उसको दृष्टि फेरि वरपर दौडियो । आफू बसेको ओछ्यान छाम्दै भन्यो- 'हैन तपाईंले के भन्नुभयो दाइ ? फे... फेरि भन्नु त ?’
'तिम्री मानवी घाँसपात गर्न जङ्गल गइन् के ।’ दक्षिणले विश्वास बढाउन उत्तरतर्फ हेर्‍यो । उत्तरले पनि हो हो भनेर स्वीकारोक्ति जनायो ।

बल्ल मानवको अनुहारमा खुसी नाच्न थाल्यो उसले लामो सुस्केरा हालेर भन्यो- 'कस्तो डरलाग्दो सपना देखेछु त ! हेर्नु त, मेरो जिउ अझै लगलगी कामिरहेको छ । उसले आफ्नो जिउतर्फ आँखा फाल्यो । वास्तवमा उसको आङ डर र आतंकले थरथराइरहेको थियो ।
छिमेकी उत्तरले मानवलाई हौसाउदै भन्यो- 'ल ल भन त, कस्तो सपना देख्यौ ?’
मानवले पानीको लोहोटा उठाएर ठाडो घाँटी लगाई लोहोटा पूरै रित्यायो । अनि छिमेकीहरूको अनुहारमा आँखा दौडाएर भन्यो- 'रातिको खानपिन सकेर लोग्नेस्वास्नी आगो ताप्दै रमाइलो गफगाफमा हराएका थियौं । ढोकामा ढ्याकढ्याक आवाज आयो । मानवी नखोल्नु नखोल्नु भन्दै थिइन्, तर मलाई कोही साथी होलान् भन्ने पर्‍यो । ढोका खोल्न गएँ । छेस्किनी तानेको मात्र के थिएँ, चार जना बर्दीधारी भित्र आए ।’

ऊ आतङकित भएर बोल्यो- 'बर्दीवाला भन्दा जङ्गलका बाघभालु नै बेस हुजुर । रून कराउन पनि दिएनन् । हामी दुवैको मुखमा पट्टी बाँधे । त्यसपछि झ्याइँकुटी पार्दै तल गोठमा पुर्‍याए ।’
'जमिनदारको भैंसी गोठमा ?’ दक्षिणले सोध्यो ।
मानव छक्क पर्‍यो । उसको अनुहार अँधेरिँदै गएको चाल पाएर उत्तरले भन्यो- 'भन न भन, त्यसपछि के भयो ?’

मानव दक्षिणतर्फ फर्केर बोल्यो- 'सपनामा तिमी मसँग थिएनौ त, त्यही भैसी गोठ भन्ने कसरी चाल पायौ ?’

'अनुमान लगायो होला नि, निकै बाठो बन्नुपर्ने !’ उत्तरले कुरा सुधार्‍यो ।
मानव आफ्नो सपना बताउँदै गयो- 'मानवीको पटुका खोलेर मलाई एउटा कुनाको खम्बामा बाँधे । अर्को कुनामा आगो बाले । त्यसपछि एउटा झोलाबाट मरेको पाठो निकाले । अर्को झोलाबाट रक्सीको जर्किन झिके । अनि मेरी मानवीलाई नङ्ग्याएपछि उनको काँधमा एउटा लौरो तेर्स्याएर दुवै हात बाँधे । त्यस्तै लौरो तेर्स्याएर खुट्टा बाँधे । अनि मुकुन्डोबाहेक आफ्नो
जिउको सबै कपडा उतारे । रक्सी खाँदै मेरी मानवीलाई बलात्कार गर्न थाले । जब उनी छट्पटाउँथिन्, तब हातमा थुक लगाउँदै उनको कोमलो जिउमा चड्काउँथे । कुनै बखत चुरोटको ठुटो लिएर जिउमै ठोसिदिन्थे । त्यस अकल्पनीय दृश्यले जब मेरा आँखा बन्द हुन्थे तब झललल.... तारा देख्ने गरी मेरा कानमा चड्काउँथे ।’ मानवले आफ्ने गाला छाम्दै भन्यो- 'यहाँ अँझै दुखिरहेको छ ।’
'सपनाको असर हो ।’ उत्तरले भन्यो ।
'सपनाको असर विपनामा कसरी हुन्छ ? कहीँ तपाईंहरूले मलाई झुक्याइराख्नुभएको त हैन ?’

'हुन्छ, साह्रै डरलाग्दो सपनाको असर विपनामा पनि हुन्छ । त्यसको कारण म पछि बताउँला । हामीले तिमीलाई किन झुक्याउनु ? पहिले तिमीले देखेको सपना त टुङ्ग्याउ ।’ उत्तरले मानवको भ्रमलाई पन्छ्याउने प्रयत्न गर्‍यो ।

मानवले आफूलाई उल्झनमुक्त बनाउने कोसिस गर्दै भन्यो- 'बेलाबखत आएर मेरा आँसु पुछ्थे दाइ, तर दया जागेर हैन, अगाडिको दृश्य स्पष्ट देख्नमा बाधा अड्चन नपरोस भनेर । तिनको यातनाले मेरी मानवी थुप्रै पटक बेहोस भइन् । उनलाई होसमा ल्याउन राक्षसहरू मुखभरि रक्सी भर्थे र पिचकारी मार्थे । हजुर, खप्न नसकेर मैले आफ्नो टाउको फुटाउनलाई भित्तामा बजारेँ । अझै पनि दुखिरहेको छ ।’ उसले आफ्नु हात लिएर छामछुम पार्दा रगतै निस्केको रहेछ । 'ई रगतै निस्केको रै’छ ।’

छिमेकीले सहानुभूति प्रकट गर्दै उसको टाउकोमा हेरे ।
'मानवी...., मेरी प्यारी कहाँ छ्यौ ?’ मानवले छाती पिट्न सुरू गर्‍यो ।
'फेरि किन करा’को ?’ उत्तरले भन्यो ।
'हैन, यो सपना हुनै सक्दैन ।’ मानवले भन्यो ।
टाउको छाम्दा उत्तरको हातमा पनि रगत लागेको थियो । उसले सिरानीमा लतार्दै भन्यो- 'हेर त, सपनामा टाउको बजारेर खाटको डन्डी नै बङ्ग्याएछ ।’

मानवले सिरानीमा हेर्‍यो । रगत देखेर फेरि झोंक्कियो । लामो सुस्केरा हालेर फेरि भन्न थाल्यो- एउटाले हातको घडी हेरेर सङ्केत गर्‍यो । साथीहरूको ध्यान आफूतर्फ तानिएपछि पाँच औँला देखाउँदै घडीतर्फ सङ्केत गर्‍यो । त्यसपछि उनीहरूले कपडा लगाएर मेरी मानवीका हातखुट्टा खोले । उनी अर्धचेत थिइन् । बाँकी रहेको जर्किनको रक्सी उनको जिउमा खन्याए र फटाफट बाहिरिए । हजुर, मानवी चेतना फिर्नासाथ त्यही हातखुट्टा बाँधिएको धोतीको पासो बनाउन थालिन् । त्यो देखेर म छट्पटिएँ- 'मेरी प्रिया त्यसो नगर, जे भयो यसलाई एउटा नराम्रो सपना ठानेर दिन काटौँला । यदि मर्नै परे म पनि छु त, तिमीबिना म एक पल बाँच्न सक्दिनँ । मलाई यसरी धोका नदेऊ प्रिया ।’

उसले निन्याउरो मुख लगाउँदै भन्यो- 'मेरो स्वर तिनको कानसम्म पुगेथ्यो या नाइँ, जान्दिनँ । उनको मुखबाट जिब्रो निस्कन्जेल म गिडगिडाउँदै रहेँ ।’
'तिनीहरूले पाँच औँला देखाउनुको कारण ?’ दक्षिणले आफ्नो दोधार व्यक्त गर्‍यो ।
'पाँच बज्यो, भन्ने सङ्केत दिएको हुनुपर्छ ।’ उत्तरले भन्यो ।
'सुन्ने गरी बोल्न पनि त सक्थ्यो ?’
मानवले भन्यो- 'मुखमा मास्क लगाउनु र स्वर ननिकाल्नुको कारण तिनी टाढाका मान्छे हैनन् भन्ने दर्साउँछ दाइ ।’

'ठीक भन्यौ । तिम्रो कसैसँग दुस्मनी थियो ? सम्झने प्रयत्न गर त, को हुन सक्छन् ?’ दक्षिणले सोध्यो ।

मानव खिन्न हुँदै बोल्यो- 'छोड्नु न दाइ, पाजी सपनै त हो ।’
'क...क... कसरी छोड्नु ? त्यस्ता सपना हामीलाई पनि त आउन सक्छन् । यदि साँच्चिकै भएको भए के गर्थ्यौ ?’ उत्तरले चिन्ता व्यक्त गर्‍यो ।

निकै बेर सोचेपछि मानवले प्याट्ट औँला बजाउँदै भन्यो- 'तिनको यातना दिने तौरतरिकाले हामी लोग्नेस्वास्नीकै शत्रु हुनुपर्छ । केही महिनाअगाडिको कुरा हो, मानवी माइती गएका बखत त्यहाँका केटाहरूले छेड हानेछन् । उनले विरोध जनाउँदा सामान्य झैझगडा भएको कुरा सुनेथेँ । यस विषयमा मैले पनि ससुराली गएर कुरो उठाएको थिएँ । ससुरालीहरूले सामान्य रूपमा लिए । ती केटाहरू कोही सुरक्षाकर्मीमा पसे, कोही माओवादीमा । कोही गाउँमै लफङि्गएका छन् ।'

'तर तिनलाई समात्ने कुनै आधार देखिँदैन ।’ दक्षिणको निष्कर्ष थियो ।
मानव हाँस्यो- 'मैले यस्तो सपना देखेँ भनेर समात्नु !’
यत्तिकैमा एकजना टुप्लुकियो । उसले अनुहारमा आश्चर्यसूचक भाव झल्काउँदै भन्यो- 'मानव तिमी यहाँ ! भैँसी गोठमा बेहोस छौ भन्दै थिए त ? मानवी खै ?’ उसले यताउता आँखा दौडायो ।
'मेरी मानवी खै ?’ त्यही सवाल समातेर मानवले दक्षिण र उत्तरतर्फ हुत्यायो ।
'यसलाई एउटा नराम्रो सपना नै ठान न, जीवनमा आइलाग्ने सबै घटनाहरू सपना जस्तै त हुन् । आउँछन् जान्छन् । बस, हामी संयमतापूर्वक तिनसँग जुध्नु पर्छ ।’ यति भनेर दक्षिणले प्रतिक्रिया जान्न मानवतिर पुलुक्क हेर्‍यो ।

मानवले टोकुँलाझैँ हेरिरहेको थियो ।
उत्तरले मानवको एकाग्रता खलबल्याउन उसको काँधमा हात राख्दै भन्यो- 'अहिले जाउँ, ती चारजना को थिए छिटोभन्दा छिटो पत्ता लगाएर तिमीले खोजे जस्तो सजाय दिनू हाम्रो काम हो ।’

यसप्रकार मानवको मन दह्रो बनाउँदै उसलाई आर्यघाट पुराए । सशस्त्र लडाइँले गर्दा पुलिस गाउँमा पस्दैनथे । मानवीको लास लिएर पुलिसकहाँ जानुको कुनै औचित्य देखिएन । गाउँलेहरूले आर्यघाट पुर्‍याएका थिए । मानवलाई अन्तिम पटक मुख हेर्न दिएर चिता जलाइयो ।

केही दिनपछि गाउँमा फेरि बर्दीवाला आए । तिनलाई देखेर मानव काम्न थाल्यो । उसको जिउमा चिटचिट पसिना आयो । दारा किट्दै बोल्यो- 'मेरी मानवीका हत्यारा हो ।’ त्यसपछि रिँगटा लागे जस्तो गरी ढल्यो । यस पटक उसको चेतना फर्काउन अस्पताल पुराउनुपर्‍यो । डाक्टरले होस फर्काए पनि ठीक ठाउँमा आएन । उसको चेतना त्यही रातको घटनामै सीमित भइरह्यो ।

अब मानव बर्दीवाला देख्यो कि 'नाइँ हजुर मेरी मानवीलाई छोड्देउ,’ भन्दै रून-कराउन थाल्छ ।


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ