रविवार, 22 मई 2011

सीपीको ढिपी

दाई ! अमेरिकाबाट पैसा आएसी हामीपनि दिनदिनै चना केराउ खानी है ?

सीपीको साईलो भाई केपीको यो मनै चिरिने आवाजले म झसङ्ग भए। मेरो आखा स्टिलको कचौरा तिर ठोकियो जसमा भिजेका चना केराउका दाना फुलेर बसेका थिए।



दिनदिनै पाक्ने आलु र गुन्द्रुकको स्वादले भुत्ते भएको जिब्रो निकाल्दै साईलो मेरो कचौरा तिर हेर्दै थियो। मैले उसको हातमा त्यो कचौरा थमाउदै भने – ल भाई ! आजको खाजाको स्पोन्सर म, यो चना केराउ राम्ररी भुट्नु, उ त्यो पोकामा चिउरा छ त्यो पनि झक मजाले खानुपर्छ है ! यसरी मैले चना केराउ पर्वलाई अस्थायी रुपले थामथुम पार्ने प्रयास गरे।





*******

दाई आज अमेरिकन एम्बेसी जानु छ ! सीपीको हुलिया आज निकै बदलिएको थियो। नया पाइन्ट, सेतो सर्ट अनि कालो कोट ( लौन कहाबाट ल्याएछ यो कोट?)

मैले सीपीलाई शिरदेखि पाईतालासम्म हेरे। सीपीले खुट्टामा त ट्वाइलेट जादा लाउने चप्पल पो लगाएछ।

दाई ! ल म हिडे है, दस बजे एम्बेसी छिर्नू छ, भर्खर सात बजेको थियो र उसको आखाको असहज भाकाले मेरो कोठालाई नियाल्दै थियो।

भाई! यति ह्यान्डसम भएर किन नि ? मैले सोझै खुट्टातिर हेर्दै भने।

हेर्नु न - उ सहज भाकामा प्रस्तुत भयो - चार जोर मोजा लगाउदा पनि साईलोको जुत्ता फिट भएन, मेरो त थोत्रो गोल्डस्टार मात्रै छ, त्यस्तो के लाउनु भनेर चप्पलै लगाएको !

लाटा ! तिम्रो र मेरो खुट्टाको नाप मिल्छ जस्तो छ, अप्ठ्यारो नमान्नु ! मैले धुलो झारेर मेरो कोसेली छालाको जुत्ता उ तिर लम्काउदै भने।

उ मात्र किचिक्क हास्यो।

साईलो जुत्ता चम्काउन बाहिर बरन्डा तिर दौडियो।

मैले ढाढस दिए - लक्की जुत्ता छ बाबु यो ! मेरो मामाले सीटिईभिटिको स्थायी ईन्जिनियरको जाचको अन्तबार्ता दिन जादा यै जुत्ता लगाएर गएका थिए, बुढाको नाम निस्कीयो। डन्ट वरी!

सीपी किचिक्क बाट मुस्कानमा उक्लीयो।

म जुत्ता बिहिन भए, बाहिर कतै निस्कीन पाईन, दिनभर कम्प्युटरमा काम गरेर बसे।





*******



भिसा पाउने-नपाउने कन्फर्म एघार बजेतिर हुन्छ भनेको थियो सीपीले। तर बाह्र बज्दा पनि मेरो मोबाईलले सीपीको कुनै हालखबर बताएन। पढाईमा अब्बल विद्यार्थी उ, त्यसमाथि निकै मिहिनेत गरेर राम्रो डकुमेन्ट बनाएको छु भन्थ्यो उसले, त्यसकारण पाउला नि। सायद सरप्राईज दिन फोन गरेन होला, मेरो आस मरिसकेको थिएन तर उ भने उता एम्बेसी तिर जिउदै मरिसकेको रहेछ।



*******





चार बजेतिर एउटा भावशुन्य अनुहार मेरो ढोकामा उभियो।

लोप्पा खायो ! आफ्नो अनुहारलाई आफैले लोप्पा खुवाउदै सीपी बोल्यो। म उसलाई सम्झाउन थाले।

दुईटै दाई अमेरिका पुग्लान भनेर दिउसै सपना देखेर हिडेको साईलोको अनुहार बादल लागेको आकाश जस्तो थियो, उ आफैले भिसा नपाए जस्तो! ( सीपीको माईलो भाई टीपी अमेरिका गएको तीन महिना भइसकेको थियो)

अब सीपी अमेरिकाबाट अष्ट्रेलियामा बढुवा भयो या उसकै भाकामा भन्नुपर्दा घटुवा भयो। अष्टे्रलिया जाने धुनमा उ गुणराज दाईको कन्सल्टेन्सी तिर धाउन थाल्यो। कुनै पनि हालतमा नेपाल छाड्ने एक शुत्रीय ढिपी बोकेर सीपी हिड्न थाल्यो।



--------------------------------------------------------------------------------





दाई ! साईलाले डुबायो !

के डुबायो ? जुठा भाडा सबै बाटामा डुबायो ? म आफ्नै धुनमा कम्प्युटरमा ब्यस्त थिए।

धत! जोक नगर्नु न यार, आफुलाई कस्तो टेन्सन भइसक्यो।

के भो ?

साईलाले नुमे बोकेर आएछ।

नुमे ? के हो यो ? खाने कुरा हो कि क्या हो ?

धत! हेर्नु न म अष्ट्रलिया जाने कैले, भिसा लाग्ने कैले, यो मुले साईलाले एक्लै बस्न सक्दिन भनेर मलाई नसोधि नुमेलाई रुम पार्टनर बनाउन ल्याएछ। फेरि भोलि दिदी पनि काठमाडौ आउने रे। बुवालाई अष्ट्रेलियाको भुत लाग्या छ। शर्मिला, शशि, सुरक्षा, हेमकुमारी सप्पै अष्ट्रेलिया उड्ने रे। कोहि आइएलटिएस दिदै छन, कोहि डिपेन्डेन्टमा हाल्दै छन अनि बुवा पनि के कम जा छोरि काठमाडौ आइएलटिएस दिनलाई भनेर दिदीलाई पठाउनु भाछ।

सीपीले एकै सासमा आफ्नो धारा प्रबाह सिध्यायो।

म मरिमरि हास्न थाले।

डुबिस् सीपी डुबिस् ! खुब दाई भई खाको ? देखिस तलाई ४९ सालको भाईले पनि टेरेन आज! क्यारछस् बाबु अब, नुमेलाई कोठा दे, आफु छोडेर जा । मैले सीपीलाई जिस्क्याउदै भने। सीपी आज साच्चै रिसायो र खुट्टा बजार्दै निस्कीयो मेरो कोठाबाट।



--------------------------------------------------------------------------------





के हुदैछ सरहर ? मदनजी को चिरपरिचित आवाज बेमौसमको बाजा बनेर ठोकियो।

-के हुनु सर ! जिन्दगीको पाङग्रा गुडदैछ। अरु केनै हुन्छ र नया नौलो ?

-घान्द्रुक के हुदैछ ?

-प्रि फाइनल चल्दैछ, ड्रइङ अलिकति बाकी छ ( म घान्द्रुकको गुरुङ बस्तिमा थेसिस गर्दै थिए। )

छोटो सबाल जबाफ पछि मदनजी मैदानबाट पछि हटे। म कालो कफिलाई तान्दै र सेतो धर्कालाई कम्प्युटरमा छोट्याउदै थिए, साईलो मुन्टियो।

साईलोको पछिपछि लागेर सीपी पनि भित्रियो।

मदनजी पनि के कम ? लु है म पनि आए सरहरु। बुइनि कता गईच र? भात पकाम्न पर्नी, अनि धेरै काम तुर्न बाकी छ, उनि चिरपरिचित लवज सहित फेरि हाजिर भए।

हैन सीपीजी को घरतिर के छ पेशा ब्यबसाय ? उनले अनायसै बेमौसमको राग अलापे।

म जङ्गिए। सीपी तिर आखा झम्क्याउदै मैले मुख खोले - हेर्नुस मदनजी, सीपी त जमिन्दारको छोरो। १०० बिघाभन्दा बढि खेत छ उसको, भन्डारामा ३५-४० वटा भन्दा बढि ठुल्ठुला माछा पोखरी छ उसको, पोल्टि्रफार्म अनि ५ वटा ट्रक भन्न के लागेको थिए, उसले मेरो मुख थुनि दियो र ट्रकको कुरा मैले खुस्काउनै पाइन।

अतिरन्जित गर्न त भएन नि ! उ मेरो कानमा फुस्फुसायो। म शान्त भए।

मदनजी डङरङ्ग ढले। भाग् ! भनेर भाग्न के आटेका थिए, सीपीको मोबाइलमा घन्टी बज्यो। फोन घरबाट रहेछ, साइलो चाहिले उठायो।

-अनि त्यसपछि के भयो बा ??

साइलोले बार्तालाप आफ्नो चिरपरिचित थेगोबाट शूरु गर्‍यो। केहिबेरको भलाकुसारिपछि साइलो राकियो - यहा जाडोले मर्न लगिसके, एउटा ट्राउजर किन्ने पैसा छैन, जम्मा ३० रुपैया मात्र बाकी छ हामीसग। ओढने सिरक पनि एउटै मात्र, यो कम्मल त चिसो पानीको भुङग्रो जस्तो छ। भात मात्र खान देर हुन्छ काठमाडौ बसेपछि । साइलोको छारस्ट प्रलापले अघि मैले हालेको भ्रमको पर्दा पूरै च्यातियो। धन्न मदनजी केहि नबुझेझै खिस्स हासे र बहिरिएर मात्रै नत्र बर्बाद !





*******



अमेरिका जान नपाएपनि सीपी र अमेरिकाको हालत एउटै भयो - आर्थिक मन्दी। सीपी पूरै टक्टकियो र साइबर जान समेत नसक्ने हालतमा पुग्यो। मैले ५०० सापटी दिए, चुहिने खल्ति दुइचार दिन टाल्यो अनि फेरि शान्त भयो। एक दिन अनलाइनमा अमेरिका बस्ने उसको माइलो भाइसग मेरो भेट भयो।

-के छ सीपी दार्ईको हाल र?

-अमेरिकाको जस्तै छ, मैले च्याटमा लेखे।

-मतलब र?

-आर्थिक मन्दी

-उसलाई साइबर पठाइ दिनु न। म राम्ररी कुरा गर्छु नि।

-बिचरोसग साइबर आउने पैसो समेत छैन, घरमा पनि पैसा छैन रे पठाइदिनलाई, भाडा नतिरेको दुइ महिना भैसक्यो। तरकारी सम्म जसोतसो दिदीले आफुले बचाएको पैसाले किन्दै हुनुहुन्छ।

मसग समय थोरै तर सीपीको ब्यथाको पोको धेरै भएकोले सपै कुरा एकैचोटि लेखिदिए अनि उसको जबाफ सुन्ने हिम्मत नभएकोले मैले म्यासेन्जर बन्द गरे। कोठामा फर्केपछि सीपीलाई सुनाए - मर्मस्थलमा राम्रै प्रहार गरेको छु। हेरौ, हरिया पात झर्न पनि सक्छन।

आज धेरै दिनपछि ग्रहण लागेको सीपीको अनुहारमा मैले अलिकति आभा मण्डल देखे।

-ल भाई जाम चिया खान।

उ अक्मकियो।

-न आमा पट्टिको न बाउ पट्टिको तै पनि स्पोन्सर म छदै छु नि ! एक कप चिया ख्वाउनलाई मैले दुइ राउन्ड डाइलग हाने। उ र म बाजेको चियाको पसल तिर लम्कियौ।





*******





“ओई ओई साईली ओई ! ओई !!

ओई ओई साईली ओई ! ओई !!”

सीपी साझ ६ बजेतिर भद्दा नाच र उज्यालो अनुहार सहित मेरो कोठामा हाजिर भयो। यसो हेरे,निलो कोट भिरेको रहेछ, अनि मैले बुझहाले -यो सबै हरियो डलरको कमाल हो (पैसा भएको बखत उ कोट लाउने गर्थ्यो।)

-कति पात झर्‍यो भाइ ?

-जम्मा जाबो ३०० डलर, उसको नाच बन्द भइसकेको थियो।

डलर झरेको खुसियालीमा उसले मलाई भेज म.म. खुवाउन लग्यो। साईलोको चना केराउ खाने अन्तिम इच्छा पनि पूरा गरिदियो सीपीले। १-१ किलो चना केराउ कोठामा भित्रिएपछि नभिजेको केराउ चपाउदै साईलो मच्चियो - अनि त्यसपछि के भयो मिलन दाई !!!!

-त्यसपछि ?

-अ

-“‍त्यसपछि मिलन दाई मर्‍यो र मिलन दाईको कम्प्युटर बोकेर साईलो भाग्यो”!!

-ऊ ! हु! हु !!

साईलोले सबैलाई निशुल्क एक डोज मनोरञ्जन प्रदान गर्‍यो।





*******



अब पालो गल्कोटे माईलोको।



सीपीको खल्तिमा हरिया नोट नाचेको भेउ गल्कोटे माईलोले परैबाट पायो। पुतलीसडकमा सुकेको सागजस्तो पातलो ज्यानलाई हावामा हल्लाउदै हिडिरहेको अबस्थामा उसग गल्कोटेको भेट भएको थियो। गाउबाट दशलाख ठगी गरेर भागेको गल्कोटेलाई सीपीले आफुसग २०-२२ हजार रुपैया भएको र एउटा मोबाइल किन्ने बिचार गरेको कुरा सुनायो।

-हेर सीपी, त भाईजस्तो मान्छे, सिम मेरै छ तलाई फ्रिमै दिउला अनि २ जिबि मेमोरी कार्ड, ३ पिक्सेल क्यामेरा, एमपिथि्र, सिम रिम दुबै हाल्न मिल्ने, हार्ड डिस्क र र्‍याम समेत भएको चोरीको सेट तलाई ४ हजारमै मिलाई दिउला। अष्ट्रेलियामा आईटि पढन जान ठिक्क परेको साईन्सको विद्यार्थी सीपीलाई गल्कोटेले हार्ड डिस्क र र्‍याम समेत भएको मोबाइल भनेर बखान छाटेपछि उ दंग पर्‍यो र ४ हजार गल्कोटेलाई बुझायो।



गल्कोटे साझ पाहुना बनेर सीपीको कोठामा भित्रियो। सीपीका दाजुभाई दुबै मिलेर गल्कोटेलाई निकै पुछपाछ पारे। साईलो गल्कोटेको ज्याकेट धुन धारातिर लम्कियो। सीपी मैनबत्तीको उज्यालोमा चना केराउ र काउलीको तरकारी पकाउन थाल्यो।



मिलन दाई ! फुर्किएको सीपीले घोकेको पाठ झै मेरो कोठामा आएर गल्कोटे पुराण सुनाउन थाल्यो - “ २ जिबी मेमोरी कार्ड, ३ पिक्सेल क्यामेरा, एमपिथि्र, सिम रिम दुबै हाल्न मिल्ने, हार्ड डिस्क र र्‍याम समेत भएको चोरीको सेट ४ हजारमा”, “ओई ओई साईली ओई ! ओई !!। सरुभत्कको उपन्यास पागल वस्तीको भउते चोर भन्दा बढी कार्टुन डान्स नाचेपछि शान्त भएको सीपीलाई मैले भने - भाई! चोरीको सेट बोक्नु र सेट चोर्नु दुबै एउटै अपराधको कोटिमा पर्छन, फेरी के हो यो हार्ड डिस्क र र्‍याम भएकोे सेट? ठग्ला है तलाई गल्कोटेले !

धत! मेरो ढोकामा खुट्टा र जुत्ता दुबै बजारेर सीपी बम्कियो - मेरो मोबाइल आएपछि तपाईलाई म छुन पनि दिन्न !

-मलाई चोरीको सेट छुनु पनि छैन !

-नरिसाउनुस न दाई ! सीपीको ढिपी अलि कम भयो -”यो जाबो नोकिया ११०० कति बोक्ने ? बल्ल राम्रो सेट बोक्ने मेसो मिल्दै छ।”

-ल ल भाई मोज गर ! म जबरजस्ती हास्ने प्रयास गर्न थाले।



“ओई ओई कान्छी ओई ! ओई !!, उ गल्कोटेलाई स्याहार्न आफ्नो कोठातिर लाग्यो।

खल्ती र पेटको थैलो दुबै मजाले भरेपछि साईलोले धोईदिएको सफा ज्याकेट र पाइन्ट लाएर गल्कोटे मोबाईल लिन सीपीसगै पुतलीसडक निस्कियो र बीचबाटो बाटै फिल्मी शैलीमा उछििट्टयो।

पट्यार लाग्दो साझमा मकैको ढोड जस्तो अररो शरिर लिएर सीपी फेरी मेरो कोठामा हाजिर भयो। निभ्न लागेको उसको अनुहारतिर मैले हेरे। उसले ईस! भन्दै लोप्पा खुवायो।

मिलन दाई ! चार जना मान्छे छिनाउनु पर्ने भयो, उ अनायासै बडबडायो। को को हो ? मैले आफ्नो गर्दन छाम्दै सोधे।

-मेरो ३००० खाइदिने माटे, गल्कोटे माइलो, मलाई कुकुर बिरालो झै हेपेर अपमान गर्ने कपिल अनि दशतिर ठक्कर खाने अभागी म। धन्न भगवान ! मैले हात गर्दनबाट हटाए।

सीपीको ढिपी ! मेरो मुखबाट अनायासै दुइ शब्द निस्कियो।

उसले पनि आखाबाट दुइ थोपा तातो आशु तप्प झार्‍यो र टोल्हाइरहयो।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

नेपाली गरीब हरुको पिडा बोकेको एक मात्र बल्ग गुल्मी राङ्बास ले हाम्रो नेपाली गरीब हरुको पिडा लाई नै उजगार गर्दछ